इरान र अमेरिकाबीचको दोस्रो चरणको आणविक वार्ता रोममा सम्पन्न


प्रारम्भिक चरणको छलफलको एक हप्तापछि संयुक्त राज्य अमेरिका र इरानले शनिबार रोममा ओमानद्वारा मध्यस्थता गरिएको तेहरानको आणविक कार्यक्रममा वार्ता गरेका छन् । प्रारम्भिक चरणको छलफललाई दुवै पक्षले ‘रचनात्मक’ भनेर वर्णन गरेका थिए ।
एक अमेरिकी अधिकारी र इरानी राज्य टेलिभिजन अनुसार रोममा ओमानको मध्यस्थतामा गरिएको वार्ता करिब ०९३० जिएमटीमा सुरु भयो ।
इरानी राज्य टेलिभिजनले प्रसारण गरेको तस्बिरहरूमा विदेशमन्त्री अब्बास अराघची इटालीको राजधानी आइपुगेको देखाइएको छ । अमेरिकी मध्यपूर्व दूत स्टिभ विटकफ पनि वार्तामा सहभागी हुने तय भएको छ ।
इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाकाईले ओमानका राजदूतको निवासमा ‘दुई प्रतिनिधिमण्डल दुई फरक कोठामा’ रहेको बताउनुभयो । ओमानका विदेशमन्त्री बद्र अलबुसैदीले उहाँहरूबीच सन्देशहरू आदानप्रदान गरिरहनुभएको छ ।
इरानले मस्कटमा अप्रत्यक्ष वार्ता भनेको दुई पक्षले गरेको एक हप्तापछि यो बैठक भएको हो । सन् २०१८ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ऐतिहासिक आणविक सम्झौता त्याग्नुभएपछि यी दुई देशबीच यति उच्चस्तरमा भएको पहिलो छलफल थियो ।
संयुक्त राज्य अमेरिकासहितका पश्चिमी देशहरूले लामो समयदेखि इरानलाई आणविक हतियारहरू प्राप्त गर्न खोजिरहेको आरोप लगाएका छन् । उक्त आरोपलाई तेहरानले लगातार अस्वीकार गर्दै आएको छ र आफ्नो कार्यक्रम शान्तिपूर्ण नागरिक उद्देश्यका लागि हो भनेर जोड दिँदै आएको छ ।
इरानको सन् १९७९ को इस्लामिक क्रान्तिपछि तेहरान र वासिङ्टनबीच कुनै कूटनीतिक सम्बन्ध छैन ।जनवरीमा आफ्नो कार्यालयमा फर्केपछि ट्रम्पले इरानविरुद्ध प्रतिबन्धहरूको आफ्नो ‘अधिकतम दबाब’ अभियान पुनर्जीवित गर्नुभएको थियो ।
मार्चमा उहाँले इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीलाई नयाँ आणविक वार्ता गर्न आग्रह गर्दै पत्र पठाउनुभएको थियो र कूटनीति असफल भएमा सैन्य कारबाही गर्ने चेतावनी पनि दिनुभएको थियो ।
“म सैन्य विकल्प प्रयोग गर्न हतारमा छैन”, ट्रम्पले बिहीबार भन्नुभयो, “मलाई लाग्छ इरान कुरा गर्न चाहन्छ ।”
शुक्रबार अराघचीले इरानले पहिलो चरणमा अमेरिकी पक्षमा ‘केही हदसम्म गम्भीरता’ देखेको तर उनीहरूको ‘अभिप्राय र अभिप्रेरणाहरू’ मा प्रश्न उठाएको बताउनुभयो ।
शनिबार बिहान एक सामाजिक सञ्जाल पोस्टमा बाकाईले भन्नुभयो, “तेहरान यो सहज मार्ग होइन भन्ने कुरामा सचेत छ तर हामी विगतका अनुभवहरूमा भर परेर खुला आँखाले हरेक कदम चाल्छौँ ।”
मध्यस्थकर्ता ओमानका नेता सुल्तान हैथम बिन तारिक आउँदा दिनहरूमा मस्कोमा जाने कुरा उहाँको कार्यालय र क्रेमलिनले जनाएका छन् । क्रेमलिनले सुल्तानले राष्ट्रपति भ्लादिमिर पुटिनसँग ‘अन्तर्राष्ट्रिय र क्षेत्रीय एजेन्डामा वर्तमान प्रश्नहरू’ र अन्य मुद्दाहरूबारे छलफल गर्नुहुने बताएको छ ।
– निर्णायक चरण –
फ्रान्सेली पत्रिका ले मोन्डेद्वारा बुधबार प्रकाशित एक अन्तर्वार्तामा संयुक्त राष्ट्रसङ्घको आणविक निगरानी प्रमुख राफेल ग्रोसीले भन्नुभयो, “इरान आणविक बम प्राप्त गर्नबाट धेरै टाढा छैन ।”
ट्रम्पको पहिलो कार्यकालमा वासिङ्टनले तेहरान र विश्व शक्तिहरू बीचको सन् २०१५ को सम्झौता त्यागेको थियो । उक्त सम्झौताले इरानलाई उसको आणविक कार्यक्रममा प्रतिबन्धहरूको बदलामा अन्तर्राष्ट्रिय प्रतिबन्धहरूबाट राहत दिने प्रस्ताव गरेको थियो ।
तेहरानले आफ्नो अनुपालन कम गर्नुअघि ट्रम्पको फिर्तापछि एक वर्षसम्म सम्झौताको पालना गरेको थियो ।
अराघची सन् २०१५ को सम्झौताका वार्ताकार हुनुहुन्थ्यो । रोममा उहाँका अमेरिकी समकक्षी विटकफलाई ट्रम्पले युक्रेन वार्ताको जिम्मा दिनुभएको छ । विटकफ एक रियल इस्टेट व्यापारीसमेत हुनुहुन्छ ।
इरानले हाल ६० प्रतिशतसम्म युरेनियम संवर्धन गर्दछ । यो सम्झौताको तीन दशमलव ६७ सीमाभन्दा धेरै छ तर अझै पनि हतियार–ग्रेड सामग्रीका लागि आवश्यक ९० प्रतिशत सीमाभन्दा कम छ ।
शुक्रबार अमेरिकी विदेशमन्त्री मार्को रुबियोले युरोपेली देशहरूलाई सन् २०१५ को सम्झौताअन्तर्गत ‘स्न्यापब्याक’ संयन्त्रलाई ट्रिगर गर्ने कि नगर्ने निर्णय गर्न आग्रह गर्नुभयो । यसले इरानमाथि यसको गैर–अनुपालनका लागि संयुक्त राष्ट्रसङ्घको प्रतिबन्धहरू स्वचालित रूपमा पुनःस्थापित गर्नेछ ।
संयन्त्रलाई ट्रिगर गर्ने विकल्प यस वर्षको अक्टोबरमा समाप्त हुँदैछ । इरानले पहिले नै यदि संयन्त्र सुरु गरियो भने उसले आणविक अप्रसार सन्धिबाट पछि हट्न सक्छ भनी चेतावनी दिएको छ ।
यसै हप्ता तेहरानमा इरानी अधिकारीहरूलाई भेट गर्नुभएका ग्रोसीले अमेरिका र इरान वार्ताको ‘अत्यन्त महत्त्वपूर्ण चरणमा’ रहेको र सम्झौता गर्न ‘धेरै समय नभएको’ बताउनुभएको थियो ।
– अपरिवर्तनीय –
इरानी अधिकारीहरूले वार्तामा उसको आणविक कार्यक्रम र प्रतिबन्धहरू हटाउनमा मात्र केन्द्रित रहेको कुरामा जोड दिएका छन् ।
यदि वासिङ्टनले ‘अनुचित र अवास्तविक मागहरू गर्न’ बाट टाढा रह्यो भने अमेरिकासँग सम्झौता हुनसक्ने सम्भावना रहेको अराघचीले बताउनुभयो ।
विश्लेषकहरूले अमेरिकाले इरानको ब्यालेस्टिक क्षेप्यास्त्र कार्यक्रम र मध्यपूर्वमा उग्रवादीहरूलाई समर्थन गर्ने विषयमा छलफल गर्न दबाब दिने बताएका थिए ।
विटकफले यसलाई पूर्ण रूपमा रोक्न आह्वान गरेपछि इरानको युरेनियम संवर्धन गर्ने अधिकार ‘गैर–सम्झौता योग्य’ भएको अराघचीले बताउनुभयो । विटकफले यसअघि इरानलाई सन् २०१५ को सम्झौताले तय गरेको सीमामा फर्किन मात्र माग गर्नुभएको थियो ।
शुक्रबार अमेरिकी सहयोगी इजरायलले इरानलाई आणविक हतियार प्राप्त गर्नबाट रोक्ने आफ्नो प्रतिबद्धतालाई पुष्टि गर्दै यसलाई रोक्न ‘स्पष्ट कारबाही’ भएको बताएको थियो ।
मङ्गलबार खामेनीले वार्ताहरू प्रारम्भिक चरणमा राम्रोसँग अघि बढेको भए पनि तिनीहरू अझै पनि निष्फल साबित हुनसक्ने चेतावनी दिनुभएको थियो । “वार्ताले नतिजा निकाल्न सक्छ वा नदिन पनि सक्छ”, उहाँले भन्नुभयो ।