`

बडी मालिका दर्शन गर्न गएका तीन तीर्थयात्रीको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार

Nepal One HD १४ भदौ २०८० १८:५७
अर्थ समाचार

बाजुरा, १४ भदौ : बाजुराको बडी मालिका दर्शन गर्न गएका तीन तीर्थयात्रीलाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । धार्मिक तथा पर्यटकीय क्षेत्रका रुपमा रहेको बडी मालिका दर्शन गर्न गएका तीर्थयात्रीलाई लेक लागेर अक्सिजन अभाव भएपछि सेनाको हेलिकप्टरमार्फत आज उद्धार गरिएको दुर्गा भञ्जन गुल्म बाजुराले जनाएको छ ।

लेक लागेर अक्सिजन अभावका कारण सिकिस्त बिरामी भएको अवस्थामा फेला परेका कैलालीका एक दम्पत्ति र बडी मालिकाको दर्शन गरेर फर्किएकी जुम्लाकी एक महिलाको घाइते अवस्थामा आज उद्धार गरिएको दुर्गा भञ्जन गुल्मका सेनानी धर्मेन्द्रबहादुर सिंहले जानकारी दिनुभयो ।उहाँहरुको सेनाको मेडिकल क्याम्पमा प्राथमिक उपचारपछि थप उपचारका लागि हेलिकप्टरमार्फत उद्धार गरी जिल्ला अस्पताल बाजुरामा ल्याइएको सेनानी सिंहले बताउनुभयो ।“अक्सिजन अभावका कारण अचेत अवस्थामा फेला पारेका कैलालीको अत्तरिया बस्ने ६३ वर्षीय ईश्वरी बोहरा र उहाँकी धर्मपत्नी ५२ वर्षीया गङ्गा देवी बोहरालाई बिहीबार बिहान उद्धार गरिएको हो”, उहाँले भन्नुभयो ।सेनानी सिंहका अनुसार बडीमालिकाको दर्शन गरेर घर फर्किने क्रममा त्रिवेणी धाम नजिकै लडेर घाइते हुनुभएकी जुम्लाको चन्द्रनाथ नगरपालिका–२ बस्ने ४६ की विनुदेवी बस्नेतको उद्धार गरी जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।“यसअघि अक्सिजन अभावका कारण बेहोस् भएर ढलेको अवस्थामा फेला परेका अन्य तीन जनाको गत सोमबार उद्धार गरिएकामा दुईको उपचारका क्रममा मृत्यु भएको छ भने एक जना उपचारपछि घर फर्किनुभएको छ”, सेनानी सिंहले भन्नुभयो । उहाँका अनुसार मृत्यु हुनेमा कालिकोटको पलाता गाउँपालिका–१ का धनप्रसाद न्यौपाने र त्रिवेणी नगरपालिका–१ का २३ वर्षीय भरत बुढा रहेका छन् ।


प्रतिक्रिया