`

साउनमा जीवन बीमालेख त्याग गर्नेहरूको संख्या उच्च

Nepal One HD २४ भदौ २०८० ७:४८
अर्थ समाचार

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो महिना साउनमा जीवन बीमालेख त्याग (पोलिसी सरेन्डर) गर्नेहरूको संख्या उच्च रुपमा बढेको छ । अर्थतन्त्रमा आएको सुस्तता र बीमा कम्पनीप्रतिको अविश्वासका कारण बीमालेख परित्याग गर्नेको संख्या बढेको विज्ञहरूले बताएका छन् ।

बीमा प्राधिकरणका अनुसार साउनमा जीवन बीमा कम्पनीले नयाँ बीमा व्यवसायबाट भित्र्याएको कुल रकममध्ये आधाबराबर बीमालेख परित्याग गर्ने छन् । सञ्चालनमा रहेका १४ जीवन बीमा कम्पनीले साउनमा नयाँ बीमा जारी गरेर २ अर्ब २९ करोड रुपैयाँ आर्जन गरेका छन्। ती कम्पनीको यही अवधिमा एक अर्व २८ करोड रुपैयाँबराबरको बीमालेख परित्याग गरिएको छ।

प्राधिकरणका अनुसार १४ कम्पनीमध्ये सबैभन्दा धेरै बीमालेख परित्याग हुने कम्पनीमा नेपाल लाइफ इन्स्योरेन्स रहेको छ। यो कम्पनीको ४७ करोड २३ लाख रुपैयाँबराबरको बीमालेख परित्याग भएको छ।

बीमा क्षेत्रमा सवैभन्दा धेरै कारोबार पनि यही कम्पनीले गर्दै आएको छ। यस्तै एलआईसी नेपालको ३१ करोड २५ लाख, हिमालयन लाइफ इन्स्योरेन्सको १२ करोड २२ लाख र राष्ट्रिय बीमा संस्थानको १० करोड ३२ लाख रुपैयाँबराबरको बीमालेख परित्याग गरिएको छ ।

यसैगरी सूर्यज्योति लाइफबाट सात करोड़ ४६ लाख, एसियन लाइफबाट पाँच करोड ८४ लाख, नेशनल लाइफबाट चार करोड ५५ लाख, मेट लाइफबाट चार करोड ३९ लाख, रिलायबल नेपालबाट एक करोड ५१ लाख, आइएमई लाइफबाट एक करोड १४ लाख रुपैयाँबराबरको बीमालेख परित्याग भएको छ।

बाँकी कम्पनीको सरेण्डर भने करोडभन्दा कम छ । पछिल्लो समय बीमालेख परित्याग गर्नेको संख्या बढ्नु चिन्ताको विषय रहेको विज्ञहरू बताउँछन्। यो समाचार कारोबार दैनिकमा छ ।


प्रतिक्रिया