व्यवसायीको समस्याबारे एमालेले राष्ट्र बैंकसंग छलफल गर्ने


नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकको अर्थतन्त्र सुधार भएको भनेर सरकारले जनतालाई ढाँटिरहेको आरोप लगाएका छन् । नेपाल उद्योग तथा व्यवसायी महासंघले आज काठमाडौंमा गरेको निजी क्षेत्रसंग नेकपा एमाले कार्यक्रममा ओलीले देशको अर्थतन्त्र नाजुक अवस्थामा पुग्दा पनि सुधार भएको भनेर सरकारले जनतालाई ढाँटिरहेको आरोप लगाएका हुन् ।
कोरोनापछि विश्वकै अर्थतन्त्र सुधार भएपछि नेपालको अर्थतन्त्र झन ओरालो लाग्नु चिन्ताको बिषय भएको उनले बताए । र्थतन्त्रमा देखिएको असर व्यवसायीहरुमाथि पनि देखिदा पनि व्यवसायीहरुको समस्यामा सरकारले कुनै चासो नदेखिएको उनको दुखेसो थियो । मुलुकको अर्थव्यवस्थालाई ओरालोतर्फ ढकेल्ने गरि बजेट ल्याउदा केहि व्यवसायीले निकै राम्रो भनेर बजेटमाथि दिएको प्रतिक्रिया सुन्दा आफुलाई आश्चर्य लागेको उनले बताए ।
अध्यक्ष ओलीले मुलुकमा धेरै समस्या आउदा पनि सरकार बिभिन्न प्रकरण चलाउदै कमिशनको चक्करमा लागेको आरोप लगाए । सुनतस्करी प्रकरणमा भरिया नभएर लगानी गर्ने वास्तविक मालिकको खोजि गर्नुपर्नेमा उनको जोडि थियो । अध्यक्ष ओलीले व्यवसायीहरुको समस्याका बारेमा राष्ट्र बैंक लगाएत सरोकारवाला निकायसंग छलफल गर्ने प्रतिवद्धता जनाए ।