गुणस्तरहिन चिनी आयात भइरहेको भन्दै लेखा समितिमै सांसद बास्कोटाले गरे परिक्षण


काठमाडौ– नेकपा एमालेका सांसद गोकुल बास्कोटाले सर्वसाधारणले आयातित गुणस्तरहिन चिनी खरिद गर्न बाध्य भएको बताएका छन् । बुधबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समिति बैठकमा उनले बजारमा सानो आकारमा प्याकिङ् भएको चिनी गुणस्तरहिन रहेको र बढी मूल्य समेत लिने गरेको बताए ।
आफुले एक ठाँउमा प्रयोग गरेको चिनी पानीमा घुल्न समय लागेको र गुणस्तरहिन देखिएको उनले बताए । समितिमा आफुले प्रयोग गरेको चिनीको प्याकेट पानीमा घोलेर देखाउदै उनले गुणस्तरहिन चिनी बजारमा छ्याप्छ्याप्ती हुदा पनि यसको आयात रोक्ने प्रयास नभएकोमा आक्रोस व्यक्त गरे । बास्कोटाले उखु किसानको समस्या समाधान गरेर स्वदेशी चिनी उत्पादनमा प्रोत्साहन गर्नुपर्ने धारणा राखे । यस्तै, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले दैनिक उपभोग्यवस्तुमा भइरहेको कालोबजारी र महँगीले उपभोक्ता मारमा परेको भन्दै सरकारले ध्यान दिनुपर्ने बताए ।
विधुत प्राधिकरणको डेडिकेटेड लाइनको राजस्व असुली नभएको अवस्थामा त्यसलाई पनि नाफामा देखाउने काम भएकाले छिटै टुङ्गो लगाउनुपर्ने उनले बताए । त्यस्तै समिति सदस्य अर्जुननरसिंह केसीले दशैँको मुखमा कालोबजार मौलाएका अत्यावश्यक खाद्य सामग्रीलगायतमा मूल्यवृद्धि भइ आम जनता त्यसको मारमा परेको भन्दै त्यसतर्फ आवश्यक कदम चाल्न सरकारको ध्यानाकर्षण गराए ।