मौसम लम्बियो, धान काट्न हतार नगरौं


काठमाडौ– जल तथा मौसम विज्ञान विभागले नेपालबाट मनसुन बाहिरिने दिन लम्बिएका कारण किसानलाई तत्काल धान नकाट्न र काटेको भए भित्रयाईहालन सुझाएको छ । सामान्यतः अक्टोबर–२ देखि मनसुन बाहिरिने गरेको भए पनि अझै मनसुन सक्रिय देखिएको छ । वरिष्ठ मौसमविद् वरुण पौडेल बिभिन्न विष्लेषणका आधारमा आज मौसम बाहिरिने दिन अनुमान गरिए पनि यसपाली मनसुन केही दिन लम्बिएको बताए । अझै मनसुन बाहिरिन एक साता लाग्नसक्ने अनुमान रहेको मौसमविद्को भनाइ छ ।
यो बेलामा हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा अवस्थित छ । साथै नेपालमा हाल भारतको विहार र पश्चिम बङ्गाल आसपासको क्षेत्रमा रहेको न्यून चापीय क्षेत्रसमेतको प्रभाव रहेको छ । त्यसैले बदली छ । अबको केही दिन मौसम बदली हुने र ठाउँठाउँमा वर्षासमेत हुने भएकाले यो बेलामा किसानले विशेष ख्याल गर्नुपर्ने मौसमविद् पौडेलको सुझाव छ ।
“अहिले धानबाली भित्रयाउने बेला हो, काटेको धान छ भने भित्रयाईहालौं र काट्ने बेलाको धान छ भने नकाटौँ । दुई/तीन दिन रहने यो प्रणालीले धान बिगार्छ, खुलेपछि मात्रै काटौँ”, उनले भने । नेपालमा पश्चिमबाट मनसुन बाहिरिन्छ भने पूर्वबाट भित्रिन्छ । अहिले नेपालको कोशी, मधेश र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना समेत छ । भारतको उडिसा, छत्तिसगढ, विहारलगायत क्षेत्रमा पनि मौसम बदली छ । आज देशभर जसो नै बादल लाग्ने र धुम्म हुन्छ । घाम लाग्ने सम्भावना कम छ । साँझपख कतिपय ठाउँमा वर्षा पनि हुनेछ ।
जल तथा मौसम विज्ञान विभागले दुई वर्ष अघि मनसुन भित्रिने समय जुन १३ र बाहिरिने समय आज अक्टोबर २ लाई अनुमान गरेको थियो । त्यसअघि भित्रिने समय जुन १० र बाहिरिने समय सेप्टेम्बर २३ थियो । हरेक १० वर्षको विष्लेषण गरेर यसरी मिति अनुमान गर्ने गरिन्छ । पछिल्लो समयमा तोकेको मितिभन्दा ढिला गरी मनसुन बाहिरिरहेको छ । मनसुन भित्रिन पनि ढिला गरिरहेको छ । यही साल पनि मनसुन एक दिन ढिला गरी भित्रिएको थियो भने बाहिरिन पनि समय लाग्ने देखिएको छ ।