`

विपिन जोशी छुटाउन नेपालले इजिप्टलाई पनि गुहार्‍यो

Nepal One HD १२ मंसिर २०८० ८:२१
प्रवास

हमासले इजरेली र विदेशी गरी झन्डै छ दर्जन बन्धक मुक्त गरिसक्दा पनि नेपाली विद्यार्थी विपिन जोशीको अवस्थाबारे स्पष्ट जानकारी प्राप्त हुन नसकेको नेपाली कूटनीतिक अधिकारीहरूले बताएका छन्।

जोशी हमासको नियन्त्रणमा भएको ठानिएको छ। केही साताअघि इजरेली सेनाले हमासको नियन्त्रणमा एक नेपाली बन्धक पनि भएको प्रमाण फेला परेको जनाएको थियो।

उनलाई छुटाउन “आवश्यक सबै किसिमको पहल जारी” राखिएको नेपाली अधिकारीहरूले बताएका छन्।

नेपाली पक्षले अहिलेसम्म जोशीबारे कुरा गर्न हमाससँग सीधा सम्पर्क गरेको छैन।परराष्ट्रमन्त्री एनपी साउदले जोशीलाई छुटाउन उक्त प्यालेस्टिनी लडाकु समूहसँग सम्पर्कमा रहेका देशहरूसँग कूटनीतिक पहल गर्ने प्रयास गरिएको बताएका छन्।

त्यस क्रममा नेपालले इजिप्टसँग पनि आवश्यक पहल गरिदिन औपचारिक आग्रह गरिसकेको उनले बीबीसीलाई बताए। यसअघि नेपाली पक्षले कतारसँग त्यस्तो आग्रह गरेको थियो र उसबाट सहयोगको आश्वासन पाएको थियो।

विपिन जोशीबारे हामीलाई के थाहा छ
जोशी हमासको कब्जामा रहेको भनिए पनि गत अक्टोबर ७ मा हमासले इजरेलमाथि गरेको हमलापछि उनीबारे कसैलाई पनि खासै जानकारी छैन।

उत्तरी गाजास्थित अल-शिफा अस्पतालको एउटा फुटेज सार्वजनिक गर्दै इजरेली सेनाले त्यसमा देखिएकामध्ये एक जना नेपाली नागरिक पनि रहेको जनाएको थियो। तर हमासले नेपाली बन्धकबारे कुनै पनि विवरण सार्वजनिक गरेको छैन।

इजरेली सुरक्षा अधिकारीहरूले तेल अभिभस्थित नेपाली दूतावासका अधिकारीहरूलाई विपिन जोशी हमासको कब्जामा रहेका छन् भन्ने मुख्यत: तीनवटा आधारहरू दिएको बताइएको छ।

ती आधारहरूमा अल-शिफा अस्पतालको उक्त फुटेमा उनीजस्तो एक व्यक्ति देखिनु एउटा आधार हो।त्यस्तै अक्टोबर ७ मा हमासको आक्रमणपछि पनि विपिन जोशीको मोबाइल फोन इजरेली सीमाबाहिर गाजा क्षेत्रमा केहीबेर ‘एक्टिभ’ रहेको पाइनु अर्को आधारका रूपमा देखिएको छ।

तेस्रो आधार भनेको विपिन रहेको कृषि फर्म र त्यस आसपासमा हमासको आक्रमणमा मारिएका र शव पहिचान हुन नसकेकाहरूसँग विपिन जोशीको डीएनए नमिल्नु हो।

उनी बेपत्ता भएपछि नेपालबाट उनका आमाबुवाको डीएनएको नमुना लगिएको थियो। इजरेली सुरक्षाकर्मीले सङ्कलन गरेका शवहरूको डीएनएसँग तुलना गरेर हेरिएको थियो।इजरेलस्थित नेपाली राजदूत कान्ता रिजालले जोशीको पछिल्लो अवस्था थाहा हुन नसकेको तर उनलाई मुक्त गर्नका लागि विभिन्न तरिकाले पहल जारी राखिएको जानकारी दिइन्।

“विपिन जोशीलाई छुटाउनका लागि हामी इजरेली अधिकारीहरूसँग पनि निकट सम्पर्कमा रहेर काम गरिरहेका छौँ। उनको मुक्तिका लागि चाल्नुपर्ने सबैखाले कदम दूतावासले चालेको छ।”

परराष्ट्रमन्त्रीले के भन्छन्
सोमवार बिहान बीबीसीसँग सङ्क्षिप्त कुराकानी गर्दै परराष्ट्रमन्त्री एनपी साउदले सरकारले विपिन जोशीलाई छुटाउन प्रयास गरिरहेको बताएका छन्।विशेष गरी नेपालले उनलाई छुटाउनका लागि हमाससँग “राम्रो सम्बन्ध भएको” कतारसँग कूटनीतिक पहल गरेको जानकारी उनले दिए।

केही साताअघि दोहास्थित नेपाली दूतावासले औपचारिक पत्र लेखेरै कतारलाई जोशीको मुक्तिका लागि पहल गरिदिन आग्रह गरेको थियो।त्यस्तै गत साता नेपाल भ्रमणमा आएका कतारी विदेश राज्यमन्त्रीलाई पनि त्यसबारे कुराकानी गरेको र उनले जोशीको मुक्तिका लागि कतारले सक्ने पहल गरिरहेको जानकारी दिएको बीबीसीलाई बताए।

“हमाससँग हाम्रो सीधा सम्पर्क वा कूटनीतिक सम्बन्ध छैन। हामीले उनीहरूसँग सम्पर्क भएका कतारलगायतका देशहरूसँग सहयोगका लागि पहल गरेका छौँ। उनीहरूले पनि सहयोगका लागि पहल गरिरहेको बताएका छन्।”

“गाजामा राहत तथा उद्धारका लागि सहयोग गरिरहेको इजिप्ट र अन्तर्राष्ट्रिय समुदायसँग पनि हामीले विपिन जोशीको मुक्तिका लागि पहल गरेका छौँ।”

इजिप्टलाई पनि पत्र लेखेर आग्रह
कायरोस्थित नेपाली राजदूत सुशीलकुमार लम्सालले बीबीसीलाई दिएको जानकारीअनुसार नेपालले इजिप्टलाई पनि पत्र लेखेर विपिन जोशीको मुक्तिका लागि पहल गरिदिन आग्रह गरेको छ।

“हामीले यहाँको विदेश मन्त्रालयलाई विपिन जोशीको हुलियासहित पत्र लेखेरै उनलाई छुटाउन पहल गरिदिन आग्रह गरेका छौँ,” उनले भने।“उहाँहरूले पनि आवश्यक पहल गरिदिने आश्वासन दिनुभएको छ।”विपिन जोशीको अवस्था र उनको मुक्तिका लागि आफूले आइतवार मात्र इजिप्टका सहायक विदेशमन्त्रीलाई भेटेर आग्रह गरेको लम्सालले बताए।

“उहाँले पनि इजिप्ट र अन्तर्राष्ट्रिय संस्थाहरूमार्फत् पहल गरिरहेको जानकारी दिनुभएको छ।”समाचार बीबीसी नेपालीबाट साभार गरिएको हो ।


प्रतिक्रिया