माछापुच्छ्रे बैंकको नयाँ व्याजदर


काठमाडौ– माछापुच्छ्रे बैंकले आजदेखि लागू हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले यसअघि दिँदै आएको ब्याजदरमा १ प्रतिशतभन्दा बढीले घटाएर नयाँ ब्याजदर सार्वजनिक गरेको हो । अन्य धेरै वाणिज्य बैंकहरुले पनि आजैदेखि लागू हुने गरी एक प्रतिशतसम्म ब्याजदर घटाएका छन् ।
सार्वजनिक गरिएको नयाँ ब्याजदर अनुसार अब बैंकमा सबै प्रकार व्यक्तिगत मुद्दती निक्षेपमा निक्षेपकर्ताले ९ प्रतिशत मात्रै ब्याज पाउने छन् । त्यस्तै संस्थागत मुद्दती निक्षेपमा निक्षेपकर्ताले ७ प्रतिशत ब्याज पाउने छन् भने रेमिट्यान्स मुद्दती निक्षेपमा निक्षेपकर्ताले भने १० प्रतिशत ब्याज दिने बैंकले जनाएको छ ।
बैंकले कर्जामा अधिकतम आधारदरमा ३ प्रतिशत प्रिमियम लिने जनाएको छ । फिक्स ब्याजदरको कर्जा योजना पनि बैंकले सार्वजनिक गरेको छ । जसअन्तर्गत पाँच वर्षसम्मको घरकर्जामा १२ प्रतिशत, ५ देखि १० वर्षसम्मको घर कर्जामा १३ प्रतिशत र १० वर्षभन्दा माथिको घर कर्जामा १४ प्रतिशत ब्याज लिने जनाएको छ ।