इजरायलद्वारा इरानमा आक्रमण


बीबीसी । इजरायलले इरानको परमाणु कार्यक्रमहरूमा हमला गरेको इजरायली डिफेन्स फोर्सले बताएको छ । इजरायली प्रधानमन्त्री बेन्जमिन नेतन्याहुले उक्त हमला ‘अपरेशन राइजिङ लाइअन’ नाम दिइएको सैन्य कार्वाहीको एक भाग भएको भन्दै इरान इजरायलको ‘अस्तित्वको लागि’ खतरा भएको बताएका छन् ।
उनले ‘आवश्यकता रहेसम्म आक्रमण जारी राख्ने’ भन्दै इजरायलको हमलाले ‘इरानको परमाणु प्रशोधन कार्यक्रमको मुटुमा नै प्रहार गरेको’ पनि बताए ।
इजरायलले जवाफी हमलाको अपेक्षा गर्दै देशमा संकटकालको घोषणा गरेको छ । इरानको रिभोलुशनरी गार्डस्को मुख्यालयमा इजरायली हमला भएको इरानी सरकारी सञ्चार माध्यमले जनाएको छ । स्थानीय मिडियाले पनि त्यहाँ आगो लागेको र धुवाँ आइरहेको जनाएका छन् ।
इजरायली हमलामा इरानको रिभोलुशनरी गार्डस्का प्रमुख होसेन सलामी मारिएको पनि इरानी सरकारी सञ्चार माध्यमले जनाएको छ । इस्लामिक रिभोलुशनरी गार्डस् इरानको सशस्त्र सेनाको एक भाग हो र त्यो देशको सबैभन्दा शक्तिशाली संगठनहरू मध्येमा पर्दछ । इजराली हमलामा मारिएका केही वरिष्ठ नेताहरू मध्येमा उनी पनि एक छन्।
परमाणु उर्जा संगठनका भूतपूर्व प्रमुख फेरेडुन अब्बासी पनि मारिएको बताइएको छ । इजरायली डिफेन्स फोर्सेज् (आईडिएफ)ले आफूले ’इरानले हमला गर्नुभन्दा अगावै, लक्षित एवं संयोजित’ आक्रमण गरेको बताएको छ।