उपभोक्ता अदालतले ठगिएका उपभोक्तालाई दिन थाल्यो न्याय, ६० लाख रुपैयाँ क्षतिपूर्ति दिलाउने निर्णय


काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीको सक्रिय पहलमा गठन भएको उपभोक्ता अदालतले ठगिएका उपभोक्तालाई न्याय दिलाउन थालेको छ ।
उपभोक्ताको हक र हितको संरक्षणका लागि अदालतले शुक्रबार मात्र २ वटा मुद्दामा फैसला सुनाउँदै करिब ६० लाख रुपैयाँ क्षतिपूर्ति दिलाउने निर्णय गरेको छ । सबैभन्दा ठूलो क्षतिपूर्तिको निर्णय ओम हस्पिटल एन्ड रिसर्च सेन्टर प्रालि विरुद्धको मुद्दामा भएको हो ।
बुढानीलकण्ठ–९ का बसन्त गौतमले हस्पिटल विरुद्ध दायर गरेको मुद्दामा ५६ लाख ८१ हजार रुपैयाँ क्षतिपूर्ति दिलाउने निर्णय भएको छ । गौतमले आफ्ना ९८ वर्षीय पिता हरिहरप्रसाद गौतमको ओम हस्पिटलमा उपचार गराएका थिए ।
तर, उपचारमा लापरवाहीका कारण केही समयमै उनको मृत्यु भएको भन्दै गौतमले अदालतमा उजुरी दिएका थिए। अदालतले उक्त मुद्दामा ८० प्रतिशत क्षतिपूर्ति अस्पतालबाट र बाँकी दुई जना डाक्टरबाट भराउने फैसला गरेको छ ।
त्यस्तै, मोटरसाइकल खरिदमा ठगीको मुद्दामा काठमाडौंका नातीबाबु खड्काले ३ लाख ९३ हजार रुपैयाँ क्षतिपूर्ति पाउने फैसला भएको छ । खड्काले जमलस्थित जीआरएस टु युजर्स अटो प्रालिबाट मोटरसाइकल खरिद गरेका थिए ।
तर, विग्रेको मोटरसाइकल परेपछि रकम फिर्ता नपाएको भन्दै अदालतमा मुद्धा दायर गरेका थिए । यसअघि संविधान बनेको दशकौँसम्म गठन हुन नसकेको उपभोक्ता अदालत मन्त्री भण्डारीकै पहलमा स्थापना भई २०८१ चैतदेखि सञ्चालनमा आएको हो ।
अदालत सञ्चालनमा आएयता यसले उपभोक्तालाई न्याय दिलाउने उल्लेखनीय काम गर्दै आएको छ । उपभोक्ता अधिकारको संरक्षण र व्यवसायिक पारदर्शिता कायम गर्न उपभोक्ता अदालतको सक्रियता महत्वपूर्ण भएको भन्दै सर्वसाधारणले सकारात्मक प्रतिक्रिया व्यक्त गरेका छन् ।