पर्यापर्यटन विकासका लागि हिमालको प्रवर्द्धन आवश्यक : राजदूत पार्क


काठमाडौँ, ४ असार : नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क थेयङले नेपालको पर्यापर्यटनको विकासका लागि हिमालको प्रवर्द्धन आवश्यक भएकोे बताउनुभएको छ ।
अठारौँ गणतन्त्र दिवसका अवसरमा राष्ट्रिय राससले आयोजना गरेको ‘पर्वतीय पर्यटन : हाम्रो शान, हाम्रो पहिचान’ विषयक तस्बीर प्रदर्शनीको आज अवलोकनपछि उहाँले प्रदर्शनीमा राखिएका हिमालसम्बन्धी तस्बिर सुन्दर र सन्देशमूलक भएको उल्लेख गर्नुभयो ।
उहाँले तस्बीर प्रदर्शनीले पर्वतीय क्षेत्रको अवस्थाका बारेमा जानकारीसमेत प्राप्त हुने उल्लेख गर्नुभयो । सो अवसरमा राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले पर्वतीय पर्यटन विकासको सम्भावना उजागर गर्दै जलवायु परिवर्तनको जोखिम न्यूनीकरणबारे अन्तरराष्ट्रिय जगत्मा सन्देश फैलाउने उद्देश्यले तस्बीर प्रदर्शनी आयोजना गरिएको बताउनुभएको थियो ।
गत जेठ ११ गतेदेखि सुरू भएको प्रदर्शनीमा नेपालका पूर्वदेखि पश्चिमसम्म फैलिएका विभिन्न हिमशृङ्खला, हिमाली जनजीवन तथा प्रमुख पर्यटकीय गन्तव्यसम्बन्धी ९६ तस्बिर राखिएका छन् ।