`

अन्धविश्वासविरुद्धको आवाज हो ‘मोहर’

Nepal One HD ६ असार २०८२ १३:२७
मनोरञ्जन

काठमाडौं । आगामी साउन २३ मा प्रदर्शन हुने चलचित्र ‘मोहर’ ले देवीदेवताको सेवाका नाममा कन्या बालिकालाई ‘देउकी’ बनाउने जस्ता अन्धविश्वासविरुद्ध जनचेतना जगाउने लेखक तथा निर्देशक ओम प्रतीकले जानकारी दिएका छन् ।

शुक्रबार कमलपोखरीस्थित एक चलचित्र भवनमा चलचित्रमा समावेश शीर्ष गीतको श्रव्यदृश्य सार्वजनिक गर्न आयोजित कार्यक्रममा निर्देशक प्रतीकले बालिकामाथि हुने परम्परागत सामाजिक हिंसाका घटनालाई चलचित्रले निरुत्साहित गर्ने संदेश प्रवाह गर्ने बताए ।

उनले भने,“मेरो जानकारीमा भएसम्म विसं २०७९ सम्म देउकी प्रथा चलेको छ । त्यसकारण पनि आजकै शैलीमा उक्त कथालाई भनेका छौँ । अहिले विभिन्न बहानामा बालिका माथि हुने गरेको हिँसालाई बन्देज गर्नुपर्छ भन्ने संदेश चलचित्रले प्रवाह गर्छ । यो मनोरञ्जनसँगै सामाजिक विकृतिलाई उठान गरिएको चलचित्र हो ।”

उनले चलचित्रका माध्यमले धेरै तथ्यलाई बुझाउन सहज भएकाले ‘मोहर’ को विषयवस्तु छनोट गरेको जानकारी दिए । चलचित्रमा पल शाह, बेनिशा हमाल, निती शाह, अर्जुनजङ्ग शाही, मिस पबि लगायतका कलाकारले अभिनय गरेका छन् । सामाजिक यथार्थ र विद्रोह मिसिएको कथावस्तुमा बनेको ‘मोहर’ ले दर्शकलाई निराश बनाउने अभिनेत्री शाहले बताइन् ।

“यसले मनोरञ्जनसँगै हाम्रो एउटा दुःखद परम्परालाई समेटेको छ । यो चलचित्र हेरेपछि महिला वा बालिकालाई हुने हिँसा थोरै भएपनि घट्छ भन्ने विश्वास छ”, उनले भनिन् ।

चलचित्रमा भुपेन्द्र अधिकारीले सम्पादन, दिपेन बस्न्यातले छायाङ्कन, रामजी लामिछाने र कविराज गहतराजले नृत्य निर्देशन, कुमार महर्जनले द्वन्द्व निर्देशन गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *