`

गभर्नर पौडेलद्वारा सम्पत्ति विवरण सार्वजनिक, कति छ नगद, कति छन् घर ?

Nepal One HD ११ असार २०८२ १४:५५
अर्थ समाचार

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्व पौडेलले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । गत जेठ ६ गते गभर्नर नियुक्त भएका पौडेलले हाइड्रोपावर र बैंकको सेयरमा लगानी रहेको सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् ।

पौडेलको ललितपुरस्थित भैंसेपाटीमा घर र जग्गा साथै नवलपसारीको गैंडाकोटामा पनि घर र जग्गा रहेको सम्पत्ति विवरणमा उल्लेख गरिएको छ । पौडेलसँग सुन र हिराको गहना पनि रहेको छ । सम्पूर्ण सम्पत्तिको स्रोत पैतृक र स्वआर्जन भएको गभर्नर पौडेलले सार्वजनिक गरेको सम्पत्ति विवरणमा उल्लेख गरिएको छ । उनको घरजग्गा श्रीमतीको नाममा रहेको विवरणमा उल्लेख गरिएको छ ।

त्यस्तै अन्य सम्पत्तिहरु भने श्रीमती र आफ्नो नाममा रहेको विवरणमा देखिन्छ । पौडेलले गैरआवासीय नेपालीहरुले प्रवद्र्धन गरेको सानिमा ग्रुप अन्तरगतको सानिमा बैंक, सानिमामाई हाइड्रोपावर र सानिमा मिडिल तमोर हाइड्रोपावरको सेयरमा लगानी गरेका छन् ।

पौडेलको नाममा सानिमा बैंकको २ लाख ४४ हजार १७६ कित्ता संस्थापक सेयर रहेको विवरणमा उल्लेख गरिएको छ । यस्तै सानिमामाई हाइड्रोपावरको ९२ हजार ५७९ कित्ता सेयर, सानिमा मिडिल तमोर हाइड्रोपावरको १ लाख ८८ हजार कित्ता सेयरमा गभर्नर पौडेलको लगानी छ ।

गभर्नर पौडेल ग्लोबेको प्रालिको प्रवद्र्धको रुपमा १ लाख ८६ हजार ८३४ कित्ता र श्रीमती प्रतिभा शर्माको नाममा ७५ हजार कित्ता सेयर छ। त्यस्तै गभर्नर पौडेलकै नाममा संयुक्त उर्जा हाइड्रोपावरको प्रवद्र्धकको रुपमा ५ लाख कित्ता सेयर छ ।

यस्तै चितवन इनर्जी लिमिटेडको प्रवद्र्धकको रुपमा २ लाख ५० हजार कित्ता सेयर छ । गभर्नर पौडेलेको घर र जग्गा भने श्रीमती प्रतिभा शर्माको नाममा छ । ललितपुरको साविकको सैंबुमा ५ आना २ दाम जग्गा र सोही जग्गामा बनेको २७९५ वर्गफिटको घर छ ।

त्यस्तै नवलपसारीको गैंडाकोटमा २ कित्ता जाग्गा र २५०० वर्गफिटको घर छ । गैंडाकोटमा एउटा कित्ता जग्गा १ कठ्ठा २ धुर २ कुनुवा र अर्को कित्ता ४ कठ्ठा १ धुर ३ कुनुवा जग्गा रहेको सम्पत्ति विवरणमा उल्लेख छ । ललितपुरको घर र जग्गा १ कराड ५५ लाख रुपैयाँ तथा गैंडाकोटको घर र जग्गा ६० लाख रुपैयाँमा खरिद गरेको पौडेलले उल्लेख गरेका छन् । उक्त सम्पत्ति पैतृक र स्वआर्जनबाट जोडेको विवरणमा उल्लेख छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *