`

दश स्थानीय तहको वार्षिक बजेट रु पाँच अर्ब ५५ करोड सात लाख २४ हजार

Nepal One HD ११ असार २०८२ १८:५८
अर्थ समाचार

खोटाङ, ११ असार : जिल्लाका दशवटै स्थानीय तहले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि नीति तथा कार्यक्रम र बजेट पारित गरेका छन् । जिल्लाका दुई नगरपालिका र आठ गाउँपालिकाले आगामी आवका लागि रु पाँच अर्ब ५५ करोड सात लाख २४ हजार २५१ बराबरको नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् ।

जिल्लाको सबैभन्दा ठूलो स्थानीय तह दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले रु एक अर्ब दुई करोड ९२ लाख ३४ हजार ३९१ को नीति तथा कार्यक्रम ल्याएको छ । पन्ध्र वडा रहेको यो नगरपालिकाले कृषि, पर्यटन, शिक्षा क्षेत्र सुधार, स्वास्थ्य क्षेत्रको गुणस्तर, स्थानीय गौरवका आयोजना, विपद् व्यवस्थापन, श्रमदानलाई प्रोत्साहन गर्ने, रोजगारी वृद्धि गर्ने, स्थानीय कृषि उत्पादन वृद्धि र बजारीकरण गरी स्वावलम्बी र आत्मनिर्भर नागरिक बनाउनेजस्ता कार्यक्रमलाई प्राथमिकता दिएर नीति तथा बजेटमा समावेश गरिएको नगरप्रमुख तीर्थराज भट्टराईले जानकारी दिनुभयो ।

त्रिधार्मिकस्थलमा पर्ने हलेसी तुवाचुङ नगरपालिकाले रु ८० करोड १८ लाख ८१ हजार ७१९ को नीति तथा कार्यक्रम ल्याएको छ । एघार वडा रहेको यो नगरपालिकाले भौतिक पूर्वाधारबाहेक खानेपानी योजना, पर्यटन विकास तथा कृषि उत्पादनमा मात्रै रु छ करोड ४७ लाख ९४ हजार ११९ बजेट विनियोजन गरेको छ ।

जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने खोटेहाङ गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि रु ५५ करोड ४८ लाख ९९ हजार ८१९ बराबरको वार्षिक बजेट ल्याएको छ । गाउँपालिकामध्ये सबैभन्दा ठूलो नौ वडा रहेको यो गाउँपालिकाले आर्थिक विकास, सुशासन तथा संस्थागत विकास, वन वातावरण तथा विपद व्यवस्थापन, पूर्वाधार विकास र सामाजिक विकासलाई प्राथमिकता दिएर नीति तथा कार्यक्रम बनाइएको गाउँपालिका प्रमुख उदिमबहादुर राई ‘मुक्ति’ले जानकारी दिनुभयो ।

कृषि व्यवसायका लागि जिल्लाको सबैभन्दा उर्वर क्षेत्रमा पर्ने रावाबेंसी गाउँपालिले रु ३८ करोड ५६ लाख ५६ हजार ८४३ को अनुमानित बजेटको नीति तथा कार्यक्रम ल्याएको छ । भौतिक पूर्वाधार र कृषिलाई प्राथमिकता दिएर आगामी आव २०८२/८३ को बजेट ल्याएको गाउँपालिका प्रमुख फटिककुमार श्रेष्ठले जानकारी दिनुभयो ।

दिप्रुङ चुइचुम्मा गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि रु ५६ करोड दुई लाख ६८ हजार ५८९ बजेट ल्याएको छ । पूर्वाधार विकास, शैक्षिक गुणस्तर अभिवृद्धि, कृषि क्षेत्रको आधुनिकीकरण, गुणस्तरीय स्वास्थ्य सेवा, खानेपानी, सरसफाइ तथा स्वच्छता व्यवस्थापन, भ्रष्टाचार नियन्त्रण, आन्तरिक रोजगारीमा जोड, लैङ्गिक तथा समावेशीकरण, सूचना प्रविधिमा आधारित सेवा प्रवाह, विपद् व्यवस्थापनलगायत क्षेत्रमा आधारित रहेर आगामी आवको नीति तथा कार्यक्रम निर्माण गरिएको गाउँपालिका प्रमुख लोकेन्द्र राईले जानकारी दिनुभयो ।

जिल्लाको उत्तरी क्षेत्रमा ऐंसेलुखर्क गाउँपालिकाले रु ४९ करोड ७० लाख ९३ हजार ८८ बजेट प्रस्तुत गरेको छ । भौतिक पूर्वाधार निर्माणका योजनालाई पहिलो प्राथमिकतामा राखेर वार्षिक नीति तथा कार्यक्रम निर्माण गरेर सार्वजनिक गरिएको गाउँपालिका प्रमुख गिरेन्द्रबहादुर राईले जानकारी दिनुभयो ।

बराहपोखरी गाउँपालिकाले रु ३८ करोड ४० लाख ५६ हजार ७७० बजेट ल्याएको छ । बजेट कार्यान्वयनलाई जिम्मेवार र जवाफदेही बनाउन आगामी आवबाट कार्यसम्पादन सम्झौता गर्नेगरी नीति तथा कार्यक्रम ल्याइएको गाउँपालिका प्रमुख सालिकराम बञ्जाराले जानकारी दिनुभयो ।

जन्तेढुङ्गा गाउँपालिकाले रु ४४ करोड ३७ लाख ३४ हजार बजेट सार्वजनिक गरेको छ । आयआर्जन र रोजगारी सिर्जना हुने मुख्य कृषि र पशुपालन भएको भन्दै निर्वाहमुखी कृषि प्रणालीबाट व्यवसायीकरणतर्फ उन्मुख गराउन विभिन्न कार्यक्रम सञ्चालन गर्ने नीतिलाई निरन्तरता दिइएको गाउँपालिका प्रमुख अरुणादेवी राई ‘दिक्षा’ले जानकारी दिनुभयो ।

केपिलासगढी गाउँपालिकाले रु ५० करोड सात लाख ५९ हजार ३७३ बराबरको नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ । भौतिक पूर्वाधार विकास तथा कृषि उत्पादनलाई प्राथमिकतामा राखेर वार्षिक नीति तथा कार्यक्रम ल्याइएको गाउँपालिका प्रमुख समीर राईले जानकारी दिनुभयो ।

जिल्लाको सबैभन्दा सानो स्थानीय तह (पाँचवटा मात्रै वडा रहेको) साकेला गाउँपालिकाले आव २०८२/८३ का लागि रु ३९ करोड ३० लाख ३९ हजार ६५९ बजेट ल्याएको छ । गाउँसभामा गाउँपालिका प्रमुख रविप्रकाश राईले ‘नवजात शिशु बचत’ योजनालगायत नयाँ नीति तथा कार्यक्रम घोषणा गर्नुभएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *