पनौतीको बजेट रु एक अर्ब ६१ करोड


काभ्रेपलाञ्चोक, ११ असार : यहाँको पनौती नगरपालिकाले आज आगामी आर्थिक वर्ष २०८२/८३ को नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ ।असार सोमबार नै सुरू भएको पनौतीको सत्रौँ नगरसभा ‘बजेट सिलिङ विवाद’ का कारण गणपूरक सङ्ख्या नपुगेको जनाउँदै आजसम्मका लागि स्थगन गरिएको थियो ।
स्थानीय तह सञ्चालन ऐनमा भएको व्यवस्थाअनुसार गणपूरक सङ्ख्या पुगेको जनाउँदै नगरले आज नीति, कार्यक्रम तथा बजेट ल्याएको हो । सभामा आगामी आवका लागि रु एक अर्ब ६१ करोड ११ लाख ११ हजारको बजेट प्रस्ताव गरिएको छ ।
नगरसभामा नगर प्रमुख रामशरण भण्डारीले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै दिगो, भरपर्दो, तथा वातावरणमैत्री पूर्वाधारमा जोड दिइने बताउनुभयो । नगरभित्र गौरवको आयोजना तथा वडाभित्र कम्तीमा ‘एक वडा एक गौरवको आयोजना’का लागि क्रमागत रुपमा बजेट विनियोजन गरिएको जनाइयो ।
पनौती शिरानचौरमा निर्माणाधीन रङ्गशालालाई नगरको आन्तरिक स्रोतबाट पूर्णता दिइने, पुण्यमाता खोला–किनारमा वृक्षरोपण कार्यक्रम, रोजगार सेवा केन्द्रलाई रोजगार बैंकका रूपमा विकास गर्ने नगरको नीति–कार्यक्रममा उल्लेख गरिएको छ ।
सभामा उपप्रमुख गीता बञ्जाराले आगामी आवको आय व्ययसहितको बजेट तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । प्रतिवडा रु एक करोड ३० लाखका दरले रकम विनियोजन गरिएको जनाइएको छ ।
विशेषगरी वडा नं ७ को संरक्षित स्मारक क्षेत्रभित्रका सम्पदामैत्री घर संरचना निर्माण तथा मर्मतमा प्रोत्साहन गर्न र विश्वसम्पदा सूचीमा सूचीकृतसम्बन्धी कार्यलाई प्रभावकारी रुपले अघि बढाउने नगरको नीति कार्यक्रममा जोड दिइएको छ ।ल्लामा सबैभन्दा बढी बजेट ल्याउने पनौती नगर भएको छ । काभ्रेपलाञ्चोकको १३ स्थानीय तहमध्ये मङ्गलबारसम्ममा १२ तहले आफ्नो नीति तथा कार्यक्रम ल्याएका थिए ।