माधव नेपाल धरौटी बुझाएर रिहा


काठमाडौं । नेकपा एकीकृत समाजवादी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल ३५ लाख धरौटी बुझाएर रिहा भएका छन् ।
बुधबार थुनछेक बहसपछि विशेष अदालतका न्यायाधीशहरू तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको इजलासले नेपाललाई ३५ लाख धरौटीमा छाड्न आदेश गरेको थियो । अदालतको आदेशपछि अध्यक्ष नेपाल बुधबार राति धरौटी बुझाएर रिहा भएका हुन् ।
अध्यक्ष नेपाल विशेष अदालतमा उपस्थित भएपछि बुधबार दिउँसो बयान लिइएको थियो । त्यसपछि दुवै पक्षका वकिलहरुले थुनछेक बहस गरेका थिए । नेपालका तर्फबाट पाँच र सरकारी पक्षबाट पाँच जना वकिलले बहस गरेका थिए ।
पतञ्जली योगपिठको हदबन्दी जग्गा हिनामिना प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीसहित ९३ जनाविरूद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो ।
आरोपपत्रमा अध्यक्ष नेपालविरुद्ध १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो मागदाबी गरिएको छ । विगतमा पतञ्जली योगपीठको जग्गा खरिदमा हदबन्दी छुटको निर्णय गरेर अनियमितता गरेको आरोपपत्र विशेष अदालतमा दर्ता भएको हो ।