`

गण्डकी प्रदेशसभाः बजेटमाथि उठेका प्रश्नमा मन्त्रीहरुद्वारा जवाफ प्रस्तुत

Nepal One HD १२ असार २०८२ १८:०६
राजनीति

गण्डकी, १२ असारः गण्डकी प्रदेशसभाको आजको बैठकमा प्रदेश सरकारको आगामी आव २०८२÷८३ को बजेट तथा मन्त्रालयगत विनियोजनमाथिको छलफलका क्रममा प्रदेशसभा सदस्यहरुले उठाएका प्रश्नमा सम्बन्धित मन्त्रालयका मन्त्रीहरुले जवाफ प्रस्तुत गर्नुभएको छ ।

बैठकको सुरुमा वन तथा वातावरणमन्त्री भेषबहादुर पौडेलले उक्त मन्त्रालयको आगामी आवको योजना, कार्यक्रम र बजेटबारे उठेका प्रश्न तथा जिज्ञासाको जवाफ दिनुभएको थियो । मन्त्री पौडेलले सबै माग सम्बोधन गर्न नसकेपनि मन्त्रालययले आवश्यकता पहिचान गरी बजेट विनियोजन गरेको बताउनुभयो ।

बजेट निर्माणमा क्रममा भुलबश भएका कमजोरीलाई मन्त्रालयले आगामी दिनमा सच्चाउने उहाँको भनाइ छ । मन्त्री पौडेलले मुस्ताङलगायत हिमाली जिल्लाका किसानको बाली र पशुधनमा पुगेको क्षतिको राहतका लागि प्रदेश सरकारले आवश्यक प्रबन्ध गर्ने बताउनुभयो । उहाँले अन्नपूर्ण र मनाश्लु संरक्षण क्षेत्रलाई प्रदेश सरकार मातहत ल्याउन सके प्रदेशको राजश्व वृद्धि हुने उल्लेख गर्नुभयो । पोखरी तथा चौतारो संरक्षणलगायतका कामलाई अभियानका रुपमा सञ्चालन गरिने उहाँको भनाइ थियो ।

उद्योग तथा पर्यटनमन्त्री मित्रलाल बस्यालले नवलपुरको लोकाहाखोला र कास्कीको पुँडीटार औद्योगिक क्षेत्रको वातावरणीय प्रभाव मुल्याङ्कनको प्रतिवेदन स्वीकृत भएको जानकारी दिनुभयो । उहाँले प्रदेश गौरवका आयोजनाका रुपमा रहेका यी दुई औद्योगिक क्षेत्रलाई चाहिने जग्गाको भोगाधिकार लिने प्रकृया अगाडि बढेको बताउनुभयो ।

मठमन्दिरलगायत धार्मिक क्षेत्रमा विनियोजन गरिएको बजेट धार्मिक पर्यटन प्रवर्द्धनका लागि भएको मन्त्री बस्यालले उल्लेख गर्नुभयो । बजेट छलफलका क्रममा मठमन्दिरलाई बजेट धेरै विनियोजन गरेर उद्योग क्षेत्रलाई कम प्राथमिकता दिएको भन्दै प्रदेशसभा सदस्यहरुले प्रश्न उठाउनुभएको थियो । मन्त्री बस्यालले पदमार्ग, धार्मिक पूर्वाधार, उद्योगलगायतका क्षेत्रमा बजेटलाई केन्द्रित गरिएको भनाइ राख्नुभयो ।

आर्थिक मामिलामन्त्री डा टकराज गुरुङ लगानी सम्मेलनका लागि मन्त्रालयले तयारी अगाडि बढाइसकेको जानकारी दिनुभयो । सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री बिन्दुकुमार थापाले राम्रा कार्यक्रम निरन्तरता दिँदै केही नयाँ योजना अगाडि बढाएको भनाइ राख्नुभयो । उक्त मन्त्रालयमार्फत आगामी आवमा १४ जनालाई विभिन्न १९ थरी सीप प्रदान गरिने उहाँको भनाइ थियो । उहाँले उद्यमशीलता प्रवर्द्धनका लागि बिउपूँजी र ब्याजनमा अनुदान दिइने बताउनुभयो ।

सीप विकास तालिम केन्द्रमार्फत तीन महिने तालिम दिएर स्वदेशमा आत्मनिर्भर बन्न युवाहरुलाई प्रेरित गरिने मन्त्री थापाको भनाइ थियो । उहाँले गुरुङ र मगर भाषालाई सरकारी कामकाजको भाषा बनाउनेलगायत प्रदेशसभामा रहेको ऐनलाई चाँडै पूर्णता दिइने उल्लेख गर्नुभयो । कृषि तथा भूमिसुधारमन्त्री पद्यमा जिसी श्रेष्ठले किसानको हितमा कार्यक्रम केन्द्रित गरिएको बताउनुभयो ।

बाँकी मन्त्रालयका तर्फबाट शुक्रबारको बैठकमा जवाफ प्रस्तुत हुने जनाइएको छ । यही असार १ गते प्रस्तुत भएको आगामी आवको बजेटमाथि असार ४ गतेदेखि प्रदेशसभामा छलफल सुरू भएको थियो ।

बजेट र मन्त्रालयगत विनियोजनमाथिको छलफल सकिएपछि बजेत पारितका लागि प्रदेशसभा बैठकमा निर्णायार्थ पेस हुने प्रदेशसभा सचिवालयका सूचना अधिकारी हरिबहादुर खपाङ्गी मगरले जानकारी दिनुभयो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *