`

सरकारले ‘सगरमाथा वृक्षरोपण महाअभियान’ संचालन गर्ने

Nepal One HD १३ असार २०८२ १३:१९
प्रमुख खबर

काठमाडौं । असार १४ गतेलाई ‘राष्ट्रिय वृक्षरोपण दिवस’को रूपमा मनाउँदै आएको सरकारले यस वर्षदेखि वृक्षरोपण अभियानलाई थप व्यवस्थित, प्रभावकारी र दीर्घकालीन बनाउने उद्देश्यसहित ‘सागरमाथा वृक्षरोपण महाअभियान’संचालन गर्ने निर्णय गरेको छ ।

सरकारको मन्त्रिस्तरीय निर्णय अनुसार, अबदेखि प्रत्येक वर्ष असार १४ गतेदेखि श्रावण १५ गतेसम्म देशभर वृक्षारोपण महाअभियान सञ्चालन गरिनेछ । यस अभियानअन्तर्गत वातावरणीय सन्तुलन कायम गर्ने, उपयुक्त क्षेत्रमा उपयुक्त प्रजातिका विरुवा रोप्ने, समृद्ध नेपाल निर्माणमा योगदान पुर्याउने तथा सन् २०४५ सम्म कार्बन उत्सर्जन शून्य बनाउने दीर्घकालीन लक्ष्यलाई साथ दिइने जनाइएको छ ।

यस सन्दर्भमा वृक्षारोपण अभियानलाई प्रभावकारी बनाउन तथा सबै तह र क्षेत्रको सहभागिता सुनिश्चित गर्न वन तथा वातावरण मन्त्रालयले आग्रह गरेको छ ।

पत्रकार सम्मेलनमा वन तथा वातावरणमन्त्री ऐन बहादुर शाहीले सरकारले सुरु गरेको ‘सगरमाथा वृक्षरोपण महाअभियान’दीर्घकालीन र प्रभावकारी हुने विश्वास व्यक्त गरे ।

मन्त्री शाहीले विगतका वर्षमा रोपिएका विरुवामध्ये धेरैजसो हुर्किएको तथ्य प्रस्तुत गर्दै संरक्षण पक्षमा अझ सशक्त पहल आवश्यक रहेको बताए ।

उनले जलवायु संकटले हिमालय क्षेत्रलाई बढी प्रभावित बनाइरहेकाले त्यसतर्फ ध्यानाकर्षण गराउने उद्देश्यले नेपालले सन् २०२५ मा ‘हिमालय जोगाऔं’ अभियान सुरु गरेको स्मरण गरे ।

सोही अभियानको निरन्तरता स्वरूप ‘सगरमाथा वृक्षरोपण महाअभियान’ सञ्चालन गर्न लागिएको मन्त्री शाहीको भनाइ थियो ।

संघीय सरकारका सबै मन्त्रालय, प्रदेश सरकार, प्रदेशका निकायहरू र ७५३ वटै स्थानीय तह सहभागी भएर अभियानलाई एक साझा राष्ट्रिय अभियानको रूपमा अघि बढाइने मन्त्री शाहीले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *