एकीकृत समाजवादीले झाँक्रीलाई सोध्यो स्पष्टीकरण


काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)ले पार्टी नेतृ रामकुमारी झाँक्रीलाई स्पष्टीकरण सोधेको छ । पार्टी अध्यक्ष माधवकुमार नेपाललाई लक्षित गरेर अभिव्यक्ति दिएको भन्दै झाँक्रीलाई पार्टीको अनुशासन आयोगले स्पष्टीकरण सोधेको हो ।
पार्टी सचिव सोमप्रसाद पाण्डेले तीन दिनभित्र जवाफ दिनेगरी स्पष्टीकरण सोधिएको जानकारी दिए । अध्यक्ष नेपालमाथि लागेको पतञ्जली जग्गा प्रकरणको भ्रष्टाचार मुद्दाको विषयलाई लिएर झाँक्रीले गत शनिबार बुटवलमा आयोजित एक कार्यक्रममा अर्ली महाधिवेशनमार्फत नेतृत्व परिवर्तन गर्नुपर्ने र मरेको सिनो काँधमा बोकेर हिँड्न नसकिने अभिव्यक्ति दिएकी थिइन् ।
उनले भनेकी थिइन्, ‘पार्टीमा संकट छ । अध्यक्षकै बारेमा संकट आयो। अब के गर्ने? अब पार्टीलाई पुनर्गठन गरेर अगाडि बढ्ने हो। संकट आयो भनेर भाग्ने भनेको होइन। पार्टीलाई पुनर्गठन गरौं। कसरी गर्ने ? कानुनी, संवैधानिक हिसाबले अध्यक्षमाथि समस्या आयो । अरु कैयौं पार्टीका सदस्यमाथि पनि समस्या आएकै छ। अब काँधमाथि मरेको सिनो हालेर हिँड्न सकिँदैन ।’
झाँक्रीको यस्तो अभिव्यक्तिपछि पाटीले अध्यक्ष नेपालको मुद्दाका विषयमा कुनै अभिव्यक्ति नदिन पार्टीका नेता कार्यकर्तालाई निर्देशन दिएको थियो । पार्टी अध्यक्ष नेपालमाथि पतञ्जलीको जग्गा प्रकरणमा अख्तियारले विशेष अदालतमा मुद्दा हालेको छ । उक्त मुद्दामा अध्यक्ष नेपाल ३५ लाख धरौटीमा रिहा भएका छन् ।