प्रदेशको सफलता सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सफलता होः राष्ट्रपति पौडेल


काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले पछिल्ला आन्दोलनहरूको उपलब्धिलाई संस्थागत गर्ने महत्त्वपूर्ण आधार प्रदेश भएको उल्लेख गर्दै प्रदेशको सफलता नै सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सफलता भएको बताएका छन् ।
बुधबार शीतल निवासमा राष्ट्रपति पौडेल र प्रदेश प्रमुखहरूबीच भएको भेटर्वार्तामा उनले लोकतन्त्रलाई सफल बनाउन प्रदेश सफल हुनुपर्ने धारणा राखे ।
“प्रदेशहरू सुदृढ भए यो व्यवस्था सुदृढ हुन्छ, संविधानको सम्पूर्ण र प्रभावकारी कार्यान्वयनका लागि आवश्यक पर्ने सङ्घीय, प्रादेशिक र स्थानीय तहका कानुनको तर्जुमा र त्यसको निष्कपट कार्यान्वयनबाट संविधानको औचित्य र सार्थकता प्रमाणित हुन्छ भन्ने मेरो विश्वास छ”, राष्ट्रपति पौडेलले भने ।
प्रदेश प्रमुखहरू प्रदेशको प्रमुखका साथै केन्द्रको प्रतिनिधि पनि भएकाले सङ्घ र प्रदेशबीचको समन्वयकर्ताका रूपमा भूमिका निर्वाह गर्नुपर्ने बताउँदै उनले प्रदेश प्रमुखहरू सङ्घीयताको सेतुका रूपमा रहेका उल्लेख गरे । “सोही कारणले राष्ट्रपति र प्रदेश प्रमुखहरूबीच निरन्तर सम्पर्क, संवाद र समन्वय हुन जरुरी छ”, उनले भने ।
राष्ट्रपति पौडेलले प्रादेशिक कानुन निर्माण प्रक्रिया सम्पन्न गरेर शीघ्र कार्यान्वयनमा लैजाने गरी काम भइरहेको बताए । “ प्रादेशिक कानुन जति छिटो लाग्छौँ, त्यसी सहज हुन्छ । परिवर्तनको लाभ जतिसक्दो चाँडो नागरिकको आँगनमा पुर्याउन सक्यो त्यति जनतामा व्यवस्थाप्रतिको भरोसा अभिवृद्धि हुन्छ, यसमा विलम्ब नगरी सरोकार भएका सबैलाई आफ्नोतर्फबाट झक्झकाउने काम गरौँ”, उनले भने ।
“प्रदेशको संरचनाले मात्र राजनीतिक महत्त्व स्थापित हुँदैन, यसको चरित्रलाई जनमुखी, समावेशी र सुशासित बनाउन जरुरी छ, चरित्रको परिवर्तन हुनु मुख्य विषय हो । राजनीतिक उपलब्धिलाई नागरिकको जीवनसँग जोडौं, प्रदेश–प्रदेशबीच स्वस्थ प्रतिस्पर्धा गरौँ, साथसाथै अन्तरप्रदेश सहकार्य र समन्वयमा जोड दिऔँ, एकापसको सहकार्यले सबैलाई लाभ पुग्नेछ भन्ने मलाई लाग्छ”, राष्ट्रपति पौडेलले भने ।
उनले प्रदेशको आन्तरिक स्रोतको सक्दो प्रयोग गरेर प्रादेशिक विकासका नयाँनयाँ योजना बनाउन, प्रत्येक प्रदेशले आफ्नो मौलिकता निर्माण गरेर अगाडि बढ्न सम्बन्धित सरकारलाई सुझाव दिनुपर्ने आवश्यकता औँल्याए । नागरिकको सम्मान, स्वाभिमान र समृद्धि भएकाले यसमा प्रदेश प्रमुखहरूले सम्पूर्ण प्रदेशलाई केन्द्रित गर्न झक्झकाउने काम गर्नुपर्ने उनको भनाइ छ ।
“मेरो जोड सुशासन, जनतामा प्रभावकारी सेवा प्रवाह र लोकतन्त्रको सुदृढीकरणमा केन्द्रित छ, जनस्तरमा लोकतन्त्रप्रति भरोसा जगाउन बौद्धिक वर्ग, नागरिक समाजका अगुवालाई सम्पर्क तथा छलफल गरी सहकार्य र समन्वयबाट मार्ग निकाल्न पहल गर्नुपर्छ”, राष्ट्रपति पौडेलले भने ।
विकास निर्माण, सुशासन, कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, साहित्य, कला, संस्कृतिलगायत क्षेत्रको विकास, विस्तारमा सुझाव दिने र यी क्षेत्रमा सम्पर्क तथा सम्बन्ध विस्तार गर्ने काममा लाग्न उनले प्रदेश प्रमुखलाई सुझाव दिए । राष्ट्रपति पौडेलले हामी सबै मिलेर सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्नेतर्फ लागौँ भन्ने आग्रह गरे ।
सो अवसरमा सातै प्रदेशका प्रदेश प्रमुखहरूले आफूले भोग्नुपरेका कठिनाइ, कानुन नियममा रहेका अन्यौललगायत विविध पक्षका बारेमा जानकारी गराउँदै यसको समाधानका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराइदिन हुन राष्ट्रपतिसमक्ष आग्रह गरेका थिए ।