सुर्खेतको वीरेन्द्रनगर तनावग्रस्त : प्रहरीद्वारा ४ राउण्ड अश्रु ग्यास प्रहार


सुर्खेत – सुर्खेतको वीरेन्द्रनगर आइतबार बसको ठक्करबाट मृत्यु भएकी जाजरकोटकी नदी रावतका आफन्तहरुले सोमबार बिहानैदेखि आन्दोलन जारी राखेपछि आन्दोलनले उग्र रुप लिएको छ । सो आन्दोलन नियन्त्रणका लागि प्रहरीले ४ राउण्ड अश्रु ग्यास प्रहार गरेको छ । मंगलगढी चोकमा आन्दोलनकारी र प्रहरी बीचको दोहोरो झडपमा प्रहरीले ४ राउण्ड अश्रु ग्यास प्रहार गरेको हो ।
प्रहरीले सो आन्दोलन नियन्त्रणमा लिएर साम्य वातावरण सिर्जन गर्न खोजेपनि प्रहरीले सो आन्दोलन नियन्त्रणमा लिन सकिरहेकोे छैन । अहिले झन आन्दोलनले थप उग्र रुप लिँदै गएको छ । १३० जना प्रहरीको टोली आन्दोलन स्थलमा खटाइएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी लक्ष्मण शाहीले जानकारी दिए ।
मंगलगढी चोकमा आन्दोलनकारी र प्रहरी बीचको दोहोरो झडपमा एक जना प्रहरी घाइते भएका छन् । आन्दोलनकारीले ढुङ्गा प्रहार गर्दा प्रहरी घाइते भएका हुन् । अहिले प्रहरीले आन्दोलनकारीलाई लखेटेर मंगलगढी चोकदेखि बुलबुले चोकमा पुर्याएको डीएसपी लक्ष्मण शाहीले बताए ।