`

वार्ता अस्वीकार गरी शिक्षक आन्दोलनमा

Nepal One HD ३ असोज २०८० १२:४०
अर्थ समाचार

काठमाडौ – सरकारले ल्याएको विद्यालय शिक्षा सम्बन्धी विधेयकका केही प्रावधानमा विमती जनाउँदै शिक्षकहरुले काठमाडौं केन्द्रित आन्दोलन सुरु गरेका छन् । उनीहरुले ‘विद्यालय शिक्षक कर्मचारीमाथिको ज्यादती बन्द गर’, ‘शिक्षामा कूल बजेटको २० प्रतिशत लगानी गर’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेर प्रदर्शन गरिरहेका छन् । नेपाल शिक्षक महासंघको आह्वानमा देशभरबाट काठमाडौं आएका शिक्षकहरु माइतीघर मण्डलामा भेला भई प्रदर्शनमा उत्रिएका हुन् । आफुहरुको सहमति विपरित विधेयक ल्याइएको भन्दै महासंघले विधेयकको दफा ७१ देखि ८८ सम्मका बिभिन्न प्रावधानमा संशोधनको माग राखेको छ ।

दान, उपहार, चन्दा प्राप्त गर्न र सहयोग लिन नहुने, कम्पनी स्थापना, सञ्चालन वा व्यापार व्यवसाय गर्न नहुने, अन्यत्र नोकरी गर्न वा सेवा गर्न नहुने, प्रदर्शन र हड्ताल गर्न नहुने लगायतका प्रावधानमा शिक्षक महासंघको असहमति छ । यस्तै, सम्पत्ति विवरण पेस गर्नुपर्ने, जिम्मेवारीपूर्वक अध्यापन कार्य नगरेमा वा कुनै पनि खालका नियम तथा आचारसंहिता भंग गरेमा शिक्षकलाई बढीमा पाँच वर्ष तलब वृद्धि रोक्का गर्ने वा पाँच वर्षसम्म बढुवा रोक्का हुने, स्थानीय तहले शिक्षकहरुलाई बर्खास्त गर्नसक्ने व्यवस्थामा पनि महासंघले असन्तुष्टी जनाएको छ ।

उनीहरुले अस्थायी प्रकृतिका शिक्षक राहत, साविक उच्च माध्यामिक विद्यालय, अस्थायी र करार, शिक्षक सिकाई अनुदान, विशेष शिक्षा, प्राविधिक धार लगायतका शिक्षकहरुको लागि आन्तरिक परीक्षाबाट स्थायी हुनुपर्ने ट्रेड युनियनको अधिकार लगायत १७ बुँदे माग अघि सारेका छन् । सरकारले वार्तामा आउन भनेपनि उनीहरुले स्वीकार गरेका छैनन् ।


प्रतिक्रिया