दमाह र मादलबाट चलेको जिवीकोपार्जन


बाँके– ‘मैले १२ वर्ष उमेरदेखि दमाह, मादल र ट्याम्का बनाउन सुरु गरेको हुँ”, बाँके कोहलपुर–१३ भरैयाका ५७ वर्षीय पस्तोके बादीले भन्नुभयो, “मेरा लागि आजसम्म पनि जीविकोपार्जनका लागि यही माध्यम बनेको छ ।”
उहाँ सोमबार बिहान पनि घरको चोटामा नजिकैको मन्दिरको दमाहा मर्मत गर्दै हुनुहुन्थ्यो । दमाहा मर्मतपछि ट्याम्का र मादल पनि साथमै राख्नुभएको थियो । पञ्चेबाजा अन्तर्गत पर्ने दमाहा, ट्याम्का र मादल बनाउन उहाँले सानैदेखि सिकेको पेसा हो ।
“बुबा सानैमा बित्नुभयो । उहाँ बितेपछि काका र दाईले यो सीप मलाई सिकाउनुभएको हो”, उहाँले भन्नुभयो, “विद्यालयमा गएर नपढे पनि सीपले जीवन धानेको छ ।” साढे चार दशकदेखि गोरुको छाला काडेर दमाहा बनाउँदै आउनुभएका उहाँले पछिल्लो समय गोरुको छाला सहजै पाउन गाह्रो भएपछि दमाह बनाउन पनि कठिन भएको बताउनुभयो ।
“मरेको गोरुको छाला काटेर दमाहा, ट्याम्का र मादल बनाउछाँै । पहिला गाईगोरु पनि धेरै हुन्थे र धेरै मर्थे पनि । हिजोआज गाईगोरु पाल्न छाडेका छन् । त्यसैले मेरेको भेटाउन पनि गाह्रो हुन थालेको छ”, उहाँले भन्नुभयो । पछिल्लो समय आधुनिक बाजाको प्रयोग बढेको र नयाँ पुस्ता पनि त्यसैमा लागेको पनि उहाँको भनाइ छ । “गोरुको छाला पाउन गाह्रो भएपछि राँगाको छाला प्रयोग गर्न थालेका छौँ”, उहाँले भन्नुभयो, “एउटा राँगाको छालालाई दुई हजार रुपैयाँदेखि दुई हजार पाँच सयसम्म पर्छ ।”
एउटा दमाहा बिक्रीबाट उहाँले पाँच हजार रुपैयाँ आम्दानी गर्नुहुन्छ भने ट्याम्का बनाएको दुई हजार लिनुहुन्छ । यद्यपि दमाहाको आकारअनुसार पैसा लिने गरेको उहाँको भनाइ छ । दमाहाको मूल्य आकारअनुसार पाँच हजारदेखि १५ हजारसम्म पर्ने उहाँको भनाइ छ ।
पस्तोके जस्तै दमाहा र ट्याम्कामा गोरुको छाला कसेर पाँच जनाको परिवार पाल्दै आउनुभएको छ अम्मर बादीले पनि । सुर्खेतको राकमबाट बाँकेको भरैयामा झरेर ३५ वर्षयता अम्मरले दमाहा र ट्याम्का बनाउँदै आइरहनुभएको छ । उमेरले पाँच दशक पार गरी सक्नुभएका अम्मरले यो सीप आफ्नै बाबुबाट सिक्नुभएको हो । यो पेसामा बुबा र आमा दुवै संलग्न भएको उहाँको भनाइ छ ।
बादी समुदायका नयाँ पुस्ताले विशेष गरी फलामबाट बनिने हँसिया, बञ्चरो, हठाँैडा, खुर्पा, खुकुरीलगायतका सामान बनाउने आरनको पेसालाई अँगालेका छन् । यसरी पूर्खाले गर्दै आएको पेसालाई छाडेर वादी समुदायबाट आरनको पेसालाई अँगाल्नेमध्यका एक हुनुहुन्छ निमबहादुर वादी । सैतिस वर्षीय निमबहादुरले आरन पेसाबाट मासिक ३० हजारदेखि ४० हजार रुपैयाँसम्म कमाइ गर्ने बताउनुहुन्छ । “आरनबाट मैले दिनको १२ देखि १५ सयसम्म कामउने गरेको छु । मासिक न्यूनतम ४० हजार आम्दानी हुन्छ”, उहाँले भन्नुभयो, “पूर्खाले गर्दै आएको पेसा दैनिक आम्दानी हुने पेसा होइन ।”