सेयर धितो कर्जाको सिमा हटाउन राष्ट्रबैंक लचक हुने संकेतपछि बढ्यो नेप्से


काठमाडौ– सेयरबजार परिसूचक नेप्से दोहोरो अंकले बढेको छ । आज नेप्से ४४.३४ अंकले बढेर २०२९.७८ विन्दुमा कायम भएको छ । ‘क’ वर्गका कंपनीहरुको कारोबार मापक सेन्सेटिभ इन्डेक्समा पनि सुधार आएको छ । आज सेयरबजारमा २ सय ७८ कंपनीका सेयर कारोबार भएका छन् । कुल १ करोड १२ लाख ६४ हजार ३०९ कित्ता सेयर १ लाख १९ हजार ३५९ कारोबारबाट ३ अर्ब २९ करोड ३९ लाख रुपैयाँमा बिनबेच भएको छ ।
आज सेयरबजारमा सूचीकृत सबै समूहका परिसूचक बढेका छन् । सबैभन्दा धेरै जलविद्युत समूहको परिसूचक ५.३१ प्रतिशतले बढेको छ । नेशनल हाइड्रोपावर कंपनी, दिव्येश्वरी हाइड्रोपावर तथा स्वभिामान लघुवित्त वित्तिय संस्थाका सेयरधनीले सबैभन्दा बढी कमाएका छन् । सबैभन्दा बढी गुमाउनेमा भने एनआइविएल ग्रोथ फण्ड, अभियान लघुवित्त वित्तिय संस्था तथा एनआइवीएल प्रगती फण्डका सेयरधनी छन् ।
अर्थमन्त्री डा. प्रकाशशरण महतलाई सेयरधितो कर्जाको सिमा हटाउन दवाव बढ्दै गएको छ । अर्थमन्त्रीले राष्ट्रबैंकका गभर्नर महाप्रसाद अधिकारी समक्ष यस विषयमा छलफल समेत गरेका छन् । छलफलमा गर्भनर अधिकारी पनि सेयर धितो कर्जा सिमा हटाउन सकारात्मक देखिएका छन् ।