`

नेपालको अर्थतन्त्रमा चुनौति सहित संभावना देखे कुरोदाले

Nepal One HD १९ असोज २०८० १६:२७
अर्थ समाचार

काठमाडौ– एसियाली विकास बैंक (एडिबी)का पूर्वअध्यक्ष हारुहिको कुरोदाले नेपाली अर्थतन्त्रमा चुनौति भएपनि आर्थिक वृद्धिको ठूलो सम्भावना रहेको बताएका छन् । जापानको केन्द्रीय बैंकका पूर्वगभर्नरसमेत रहेका कुरोदाले आज काठमाडौँमा पत्रकार सम्मेलन गरी पछिल्लो समयमा नेपालको अर्थतन्त्रमा आफूले ठूलो परिवर्तन महसुस गरेको बताए । नेपाली अर्थतन्त्रमा चुनौति भएपनि आर्थिक वृद्धिको ठूलो सम्भावना रहेको उनको भनाइ छ । नेपालको आथिृक वृद्धिमा मानव स्रोत, जलस्रोत र पर्यावरणीय स्रोतको उल्लेख्य भूमीका खेल्नसक्ने उनको बुझाइ छ । यी स्रोतको सदुपयोग गर्नसके नेपालमा आर्थिक बृद्धिसंगै विकास हुने उनले बताए ।

नेपालको युवा जनशक्तिलाई प्राकृतिक स्रोतको उपयोगमार्फत उत्पादनका क्षेत्रसँग जोड्न सक्नुपर्नेमा उनले जोड दिए । नेपालको बढ्दो सार्वजनिक ऋणलाई नजरअन्दाज गर्न नहुने भन्दै सङ्कुचित आर्थिक वृद्धिदर, लगानीको न्यून प्रतिफल र कमजोर पुँजी निर्माणका कारण बढ्दो सार्वजनिक ऋण नेपालका लागि चुनौतीको विषय हुनसक्ने उनको आँकलन छ । जापान जिडिपीको तुलनामा सार्वजनिक ऋण निकै बढी भएको मुलुकमा पर्ने भएपनि पुँजी निर्माण तथा लगानीको प्रतिफल र लगानीकर्ताले पाएको विश्वासको वातावरणका कारण ठूलो ऋणका बाबजुत पनि सार्वजनिक ऋण समस्याका रुपमा नरहेको उनको टिप्पणी छ ।


प्रतिक्रिया