`

सामान्य बन्दै नेपालगञ्जमा जनजीवन–विद्यालय सञ्चालनमा आए, पसल खुले

Nepal One HD २१ असोज २०८० १७:३९
अर्थ समाचार

बाँके– नेपालगञ्जको जनजीवन सामान्य हुँदै गएको छ । उपमहानगरपालिकामा दिउँसोको समयमा जारी निषेधाज्ञा र रातिको ‘कफ्र्यु’ खुकुलो बनाइएको स्थानीय प्रशासनले जनाएको छ । यही असोज १६ गते दिउँसो १ बजेदेखि नेपालगञ्जमा अनिश्चितकालीन कफ्र्यु लगाइएको थियो भने असोज १८ गतेदेखि दिउँसोको कफ्र्यु हटाइ रातिको कफ्र्यू कायमै राखिएको बाँकेका प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले जानकारी दिए ।

उनका अनुसार जनजीवन सामान्य बन्दै गएपछि निषेधाज्ञा र कफ्र्युको समयावधि कम गरिएको हो । जसले गर्दा विद्यालय र कलेज सञ्चालनमा आएका छन् भने बजारमा पनि केही पसल खुलेका छन् ।

जिल्ला प्रशासन कार्यालय बाँकेले आज सूचना जारी गर्दै बिहान १० देखि राति १० बजेसम्म पाँच जनाभन्दा बढी भेला भई प्रदर्शन गर्न नपाउने गरी निषेधाज्ञा कायम गरेको जनाएको छ । दिउँसो कफ्र्यु हटे पनि उपमहानगरपालिका क्षेत्रभित्र बिहान १० देखि राति १० बजेसम्म कुनै प्रकारको भेला, जुलुस, सभा, बैठक वा प्रदर्शन वा पोष्टर, पर्चा जस्ता प्रचार सामग्री टाँस्न वा लेख्न पाइने छैन । साथै हूलदङ्गा वा अशान्ति गर्ने उद्देश्यले एकै ठाउँमा पाँचजना भन्दा बढी मानिस जम्मा हुन नपाउने गरी निषेधाज्ञा जारी गरिएको छ ।


प्रतिक्रिया