`

सुरु भएको आठ वर्षमा पनि सकिएन गल्छी–मैलुङ सडक

Nepal One HD २२ असोज २०८० १४:३४
अर्थ समाचार

काठमाडौ– सरकारले व्यापारिक मार्गका रुपमा विकास गर्न खोजेको गल्छी–स्याफ्रुबेँसी–रसुवागढी सडकअन्तर्गत गल्छीबाट मैलुङसम्मको सडक निर्माण सुरु भएको आठ वर्षमा अझै सकिएको छैन । सडक निर्माणका लागि आवश्यक जग्गा उपलब्ध हुन नसक्नु सडक निर्माणको ढिलाइका कारण बनिरहेको गल्छी–त्रिशुली–मैलुङ, स्याफ्रुबेँसी–रसुवागढी सडक योजनाले जनाएको छ । योजना कार्यालयका अनुसार स्थानीयले आफ्ना घरटहराको क्षतिपूर्ति बुझ्न मानिरहेका छैनन् ।

पहिलो खण्डमा ड्रेन बनाउनेलगायत पहिलेको कामको सुधार भइरहेको योजनाका इञ्जिनियर शान्तराम पाण्डेयले बताए । कटिङलगायतका नयाँ काम थप नभएका उनले बताए । उनले भने, “वर्षा सकिएपछि सुरु गर्ने योजना छ ।” योजनाको पहिलो खण्डका रुपमा रहेको गल्छी–मैलुङ खण्डमा प्रगति ८० प्रतिशत पुगेको उनले जानकारी दिए । अहिले सडक निर्माणका अन्तिम काम मात्रै बाँकी रहेको छ ।

सुरु बिन्दु गल्छीबाट ४० किमीसम्म काम भइसकेको छ । अहिले ४० देखि ४६ खण्डमा अवरोध भएकाले काम अघि नबढेको हो । शान्तिबजारदेखि अगाडि समस्या रहेको छ । उनले भने, “छ किमीको यो खण्डमा तीन सय मिटर मात्रै कालोपत्र भएको छ ।”

शान्ति बजारमा र त्यसभन्दा अगाडि जग्गा उपलब्ध हुन नसकेकाले निर्माणले गति नपाएको योजनाले जनाएको छ । मुआब्जाका लागि निर्णय भइसके पनि स्थानीयले घर टहराको मुआब्जा बुझ्न नमानेको इञ्जिनियर पाण्डेयले जानकारी दिए । पहिलो खण्डमा सडकको दुई ठेक्का रहेको छ । जम्मा ११ पुल रहेकामा त्यसलाई एउटै प्याकेजमा निर्माण गर्ने गरी सम्झौता भएको थियो । दश पुल बनिसकेको एउटा मात्रै बाँकी रहेको छ । मुआब्जा निर्धारण र घरटहराको क्षतिपूर्तिको निर्णय भइसके पनि विवाद समाधान भई नसकेको इञ्जिनियर पाण्डेयले बताए । निर्णय भइसकेकाले त्यसलाई विभिन्न निकायसँगको समन्वयमा कार्यान्वयन गराउन लागिएको उनले जानकारी दिए । उनले भने, “सडक निर्माणका लागि घरटहरा हटाउने जिम्मेवारी पालिकाको हुन्छ र प्रहरीले सहयोग गर्ने हो ।”

योजनाको गत आवमा ७५ प्रतिशत भौतिक प्रगति रहेको थियो । गत वर्ष १४ किमी सडक अस्फाल्ट कालोपत्र भएको थियो भने आठ पुलको निर्माण सम्पन्न भएको थियो । गत वर्ष नै जिल्ला प्रशासन कार्यालय र स्थानीय तहसँगको समन्वयमा मुआब्जा निर्धारण र केही घरलाई वितरण गरिएको थियो । आयोजनाको हालसम्मको समष्टिगत प्रगति ५५ दशमलव ९८ प्रतिशत प्रगति रहेको छ । पुँजीजगततर्फ पाँच अर्ब ३३ करोड र मुआब्जातर्फ तीन अर्ब २९ करोड गरी जम्मा आठ अर्ब ६२ करोड रुपैयाँ खर्च भइसकेको छ ।


प्रतिक्रिया