कांग्रेसले नीति तथा कार्यक्रम प्रस्तुत गर्दा सदनमा अवरोध नगर्ने

काठमाडौं । संसदीय छानबिन समिति गठनलाई बटमलाइन बनाएको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने भएको छ ।

मंगलबार बसेको संसदीय दलको बैठकले संसदमा प्रस्तुत गरिने नीति तथा कार्यक्रमलाई अवरोध नगर्ने निर्णय गरेको हो । तर, कांग्रेसले नीति तथा कार्यक्रममाथि छलफल भने गर्न नदिने बताएको छ । आज दिउँसो तीन बजे बस्ने संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्ष ०८१/८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै छन् ।

मंगलबार नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिन लचक भएपनि आफ्नो अडान नछाड्ने कांग्रेसको रणनीति छ । सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति बनाउनुपर्ने माग राख्दै कांग्रेसले सदन अवरुद्ध गर्दै आएको छ । कांग्रेस संसदीय दलको बैठक अघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दा अवरोध नगरिदिन नेपाली कांग्रेसका नेताहरुलाई आग्रह गरेका थिए ।

कांग्रेस महामन्त्री गगन थापा र प्रमुख सचेतक रमेश लेखकलाई मंगलबार बिहान बालुवाटारस्थित निवासमा बोलाएर प्रधानमन्त्री प्रचण्डले सहकारीको समस्या समाधान गर्ने प्रतिबद्धता जनाउँदै संसदमा अवरोध नगरिदिन आग्रह गरेका हुन् ।

सम्बन्धित समाचार

सबै