काठमाडौं महानगरपालिकाद्वारा ‘युनेस्को चलचित्र सहर’ को प्रमाण पत्र ग्रहण

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले युनेस्को रचनात्मक सहरमा ‘चलचित्र विधा’ को प्रमाण पत्र ग्रहण गरेको छ । महानगरपालिकाको सम्पदा तथा पर्यटन विभागले आयोजना गरेको ‘चलचित्र नीति संवाद’ र ‘युनेस्को चलचित्र सहर’ को प्रमाण पत्र ग्रहण कार्यक्रममा युनेस्कोका नेपाल प्रतिनिधि प्रमुख, माइकल क्राफ्टले महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोललाई प्रमाण पत्र हस्तान्तरण गरेका हुन् ।

महानगरपालिकाले आयोजना गरेको ‘चलचित्र नीति संवाद’ कार्यक्रमको समापन अवसरमा प्रमाण पत्र हस्तान्तरणसँगै ‘महानगरपालिका चलचित्र सहरको प्रतीक चिन्ह (लोगो)’ सार्वजनिक गरिएको थियो ।

त्यस अवसरमा बोल्दै उपप्रमुख डंगोलले, रचनात्मक सहरका लागि भएका ७ वटा विधामध्ये चलचित्र विधाले अन्य सबै विधालाई समेट्न सक्ने भएकोले यही विधा छानिएको बताइन् ।

उनले भनिन्,‘काठमाडौँ संगीतको सहर पनि हो । लोककथाको सहर पनि हो । यस्तै डिजाइन, मिडिया, खानेकुरा सबै क्षेत्र काठमाडौँका लागि उपयुक्त थिए । यीमध्ये चलचित्रबाहेक अन्य विधामा काम गर्दा एउटै क्षेत्रमा मात्र सीमित हुन सकिन्थ्यो । चलचित्र विधाले रचनात्मक सहरका सबै क्षेत्रमा काम गर्न पाइन्छ । यसकारण चलचित्र नै हाम्रो रोजाइमा परेको हो ।’ कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले भने, ‘साहित्य र सिर्जनाका साधको योगदानलाई उचित सम्मान हुने कामलाई महानगरपालिकाले नीति, योजना र कार्यक्रममा समावेश गर्नेछ ।’ कार्यक्रममा युनेस्को प्रमुख क्रफ्टले भने, ‘सबैको ध्यान हाइड्रोपावर जस्ता क्षेत्रमा छ । चलचित्र जस्ता सिर्जनात्मक विधाहरु हरेक कोणबाट हाइड्रोपावरभन्दा महत्वपूर्ण छन् । यत्ति हो कि, यसलाई कसरी प्रवद्र्धन गर्ने भन्ने हो ।’

कार्यक्रममा चलचित्र निर्माता एवं निर्माता दीपकराज गिरीले ‘चलचित्रका उद्यमीले गरेका काम र सरकारसँगका अपेक्षा’, निर्देशक तथा लेखक मोहन राईले ‘अन्तर्राष्ट्रिय अभ्याससँगको दृष्टिबाट नेपालको चलचित्र उद्योग’, चलचित्र विकास वोर्डका सदस्य सचिव राजेशकुमार थापाले ‘संघीय चलचित्र नीति र स्थानीय सरकारसँगको सम्बन्ध’ र नेपाल नगरपालिका संघका कार्यकारी निर्देशक कलानिधि देवकोटाले ‘स्थानीय सरकारले रचनात्मक उद्योगमा गरेको अभ्यास’ का विषयमा प्रस्तुतिकरण गरेका थिए । यसरी गरिएको प्रस्तुतिकरणमाथि चलचित्र निर्माता, निर्देशक, वितरकसहित क्षेत्रगत प्रतिनिधिहरुले टिप्पणी गरेका थिए ।

प्रस्तुतिकरणमार्फ व्यक्त धारणामा मनोरञ्जन क्षेत्रका लागि सरकारले दिने सुविधाका विषयमा अन्तरराष्ट्रिय अभ्यास अनुसरण हुनुपर्ने, उद्योगको विकास र विस्तार हुन सक्ने खालको नीति बनाउनु पर्ने, महानगरपालिकाको कुनै निश्चित स्थानलाई चलचित्र सडकका रुपमा नामाकरण गरेर त्यो क्षेत्रलाई चलचित्रमैत्री क्रियाकलाप प्रवर्धन गर्नुपर्ने, राष्ट्रिय सभा गृहलाई धेरै चलचित्र प्रदर्शन गर्न सकिने स्थलका रुपमा पूर्वाधार विकास गरिनुपर्ने, चलचित्र महोत्सव, दृश्य सिर्जना, लिपि लेखन, उत्पादन, वितरण, प्रवर्धन, भर्चुअल रियालिटी जस्ता परियोजनाका लागि सरकारले लगानी बढाउनु पर्ने, स्रष्टाहरुलाई जीवनको उत्तरार्धमा सम्मानजनक जीवन जिउने वातावरण तयार गर्नुपर्ने, स्रष्टाहरुको मृत्युमा अन्तिम श्रद्धाञ्जली गर्ने ठाउँसमेत नभएकोले यस्ता स्थानको व्यवस्थापन गरिदिनुपर्ने सुझाव छन् ।

मनोरञ्जन क्षेत्रमा लगाइएको करले सिर्जना बाँच्न र प्रवर्धन हुन सक्छ कि सक्दैन, विश्लेषण गरेर स्थानीय कर छुटसहितका सुविधा उपलब्ध गराउनु पर्ने उनको भनाइ थियो ।

विश्वका चलचित्र सहर र काठमाडौँ
काठमाडौँ महानगर विश्वका २६ वटा चलचित्र सहरमध्ये एउटामा छानिएको हो । काठमाडौँ महानगरपालिकाकी फोकल पर्सन श्रृजुमैया प्रधानकाअनुसार विश्व सहर दिवस २०२३ का अवसरमा युनेस्कोले २०८० कार्तिक १४ गते काठमाडौँसहित विश्वका ५५ वटा नगरलाई विभिन्न विधाका रचनात्मक सहरका रुपमा नाम सार्वजनिक गरेको हो ।

सञ्जालमा १ सय भन्दा धेरै देशका ३५० वटा सहरहरु आवद्ध छन् । यस पटक ५५ वटा सहर थपिएका हुन् । जसमा चलचित्र विधामा ५ वटा थपिएका छन् । यससँगै चलचित्र सहरको संख्या २६ पुगेको छ ।

यस बर्ष सञ्जालमा जोडिएका सहरमा चलचित्रसँगै संगीत विधामा १६ वटा, डिजाइनमा ६ वटा, शिल्प तथा लोककलामा ७ वटा, साहित्यमा १० वटा, ग्यास्ट्रोनमी (खानाका परिकार) मा ७ वटा, मिडिया कलामा ४ वटा छन् । यस बर्ष चलचित्र विधामा छानिएका सहरहरुमा नेपालको काठमाडौँ, नाइजेरियाको असाबा, मोरक्कोको औराजाजाते, व्राजिलको पेनेडो र अर्जेन्टिनाको भिसेन्ते लोपेज हुन् ।

सबैभन्दा पहिले छानिएको सहर संयुक्त राज्य वेलायतको व्राडफोर्ड हो । यो सन् २००९ मा छनोट भएको हो । सन् २०१० मा अष्ट्रेलियाको सिड्नी छानियो । सन् २०१४ मा यस विधामा ३ वटा सहर छानिए । जसमा दक्षिण कोरियाको बुसान, आयरल्याण्डको गल्बे र बुल्गेरियाको सोफिया छन् । सन् २०१५ मा ३ वटा सहर छानिए ।

जसमा नर्थ म्याकाडोनियाको विटोला, इटालीको रोम र व्राजिलको सान्तोस छन् । सन् २०१७ मा संयुृक्त राज्य बेलायतको ब्रिस्टोल, पोल्याण्डको लोज, चीनको क्वान्दो, स्पेनको टेरेसा र जापानको यामागाता गरी ५ वटा नगर छानिए ।

सन् २०१९ मा भारतको मुम्बइ, जर्मनको पोष्टडाम, बोस्निया हर्जगोभियाको साराजेभो, स्पेनको भालाडोलिड र न्युजिल्याण्डको वालिङ्टन गरी ५ वटा सहर छानिएका हुन् । सन् २०२१ मा ३ वटा सहर चलचित्र विधामा छानिए । जसमा पोल्याण्डको ग्ड्यानिया, फ्रान्सको क्यानेस र रोमानियाको क्लुज नेपोका छन् ।

अन्तर्राष्ट्रिय र सम्पन्न क्षेत्रलाई एकसाथ नजिक ल्याउन चलचित्र क्षेत्र शसक्त माध्यम बन्न सक्छ । यसले साझेदारी र विचार आदानप्रदानलाई प्रोत्साहन दिन्छ । विश्वका हरेक सहरले आफ्नो आफ्नो इतिहास बोकेका छन् ।

यसले फरक संस्कृति, अवस्थिति र परिस्थितिलाई आपसमा नजिक ल्याउँछ । यसबाट भिन्न भिन्न सहरका भिन्न विशेषतालाई आपसमा परिचित हुन सघाउँछ । समावेशी समाज, सृजनात्मक अर्थतन्त्र, मानव विकास, सामाजिक सद्भाव, प्राविधिक आविष्कार, वैज्ञानिक विकास दृष्टिकोण जस्ता विषय चलायमान हुन्छन् ।

कसरी कार्यान्वयन हुन्छ ? कार्यक्रम
महानगरपालिकाले चलचित्र क्षेत्रको विकास र विस्तार तथा यससँग सम्बन्धित उद्योगको सञ्चालन, संरक्षण र प्रवर्धनका लागि आवश्यक पर्ने नीति, अनुसन्धान र विकासका लागि काठमाडौँ क्रिएटिभ आट्र्स काउन्सिल (केसीएसी, केएमसी) स्थापना गर्नेछ । यसले सांस्कृतिक र रचनात्मक कलाअन्तर्गतका सबै कार्यक्रमहरू र गतिविधिहरू कार्यान्वयन गर्नेछ ।

उद्योगमा आवद्ध क्षेत्रगत जनशक्तिको शैक्षिक क्षमता सुधार, प्रशिक्षण, चलचित्र विषय अध्ययन हुने विद्यालय तथा विश्वविद्यालयबिच समन्वय सहकार्य गरेर स्थानीय, राष्ट्रिय तथा अन्तरराष्ट्रिय चलचित्र निर्माण गर्न प्रतिभाहरुलाई प्रोत्साहन गर्नेछ । समुदाय, संस्कार, संस्कृति, परम्परा जस्ता मौलिकता प्रवर्धन तथा स्थानीयबासीको आय वृद्धिलाई ध्यानमा राखेर कार्यक्रम सञ्चालन गर्ने महानगरपालिकाको योजना छ ।

चलचित्र उद्योगको विकासका लागि आवश्यक नीति तर्जुमा र वकालत गर्ने, सहरका लागि सांस्कृतिक र रचनात्मक रणनीति विकास गर्ने, अनुसन्धानकर्ताहरूका लागि वार्षिक रूपमा अनुसन्धान फेलोसिप प्रदान गर्ने, महिला, सीमान्तकृत र कमजोर समुदायसहित लक्षित वर्गलाई यसमा सहभागी हुन छात्रवृत्ति प्रदान गरिनेछ ।

चलचित्र र अन्य रचनात्मक उद्योगहरूका लागि विद्यमान पूर्वाधारलाई सुधार र स्तरोन्नति गरिनेछ । पारम्परिक वास्तुकला झल्काउने, सुन्दरता अभिवृद्धि हुने संरचना निर्माण गरेर लागतप्रभावी चलचित्र निर्माणको वातावरण बनाइनेछ ।

ल्यान्डस्केप डिजाइन, विश्व सम्पदा क्षेत्रहरुको सुधार, पूर्वाधार स्तरवृद्धि, वास्तुकला सम्वर्धनहरू, चलचित्र निर्माणको कथा कथन र सौन्दर्यशास्त्रमा योगदान पुर्याउने दृश्यात्मक मनमोहक स्थानहरू उपलब्ध गराइनेछ । चलचित्र स्टुडियो, पोष्ट उत्पादन सुविधाहरू, चलचित्र विद्यालयहरु, उद्योगका विधागत सिप र सिकाइहरुलाई सञ्जालमा आवद्ध गरेर प्रवर्धन गरिनेछ ।

अभिलेख, पुस्तकालय र संग्रहालयको विकास हुनेछ । स्थानीय सांस्कृतिक र रचनात्मक उद्यमीलाई र साना र मध्यम आकारका उद्यम सञ्चालन गर्न सहयोग गरिनेछ । तथ्य तथ्याङ्क निर्माण गरिनेछ । व्यञ्जन, कला र शिल्प, हस्तकला उद्योगको प्रवर्र्धन र मूर्त र अमूर्त सांस्कृतिक सम्पदाको संरक्षण गर्न महोत्सव र प्रदर्शनीहरूको आयोजना गरिनेछ ।

अन्तरराष्ट्रिय स्तरका उद्यमीलाई सञ्जालमा जोड्न अन्तरराष्ट्रिय चलचित्र महोत्सव, फिल्म एक्स्पो, फिल्म समिट जस्ता ठूला कार्यक्रम सञ्चालन गरिनेछन् । यसले विश्वभरका चलचित्र निर्माता, लगानीकर्ता तथा वितरकलाई सञ्जालमा जोड्नेछ । यसबाट अन्तरराष्ट्रिय साझेदारी र सहयोगका क्षेत्र विस्तार हुनेछन् । सदस्य अन्तरराष्ट्रिय नगरहरुमा विद्यार्थी, कलाकार, अनुसन्धानकर्ता र साझेदारबीच ज्ञान, सिप र अनुभव आदान प्रदानको वातावरण प्रदान गरिनेछ ।

सम्बन्धित समाचार

सबै