
काठमाडौं । सर्वोच्च अदालतले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने र महान्यायाधिवक्ता डा. दिनमणि पोखरेलविरुद्ध पेस भएको रिट निवेदन दर्ता गर्न आदेश दिएको छ ।
बुधबार न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासले गृहमन्त्री र महान्यायाधिवक्ता विरुद्ध अधिवक्ता अनुपम भट्टराईले पेस गरेको रिट निवेदन दर्ता गर्न अस्वीकार गर्ने आदेश खारेज गरेको हो ।
अधिवक्ता भट्टराईले महान्यायाधिवक्ता कार्यालयबाट गृहमन्त्री रवि लामिछानेको नाममा जारी भएको पत्रको वैधतामाथि प्रश्न उठाई सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेका थिए । महान्याधिवक्ताको कार्यालयले गृहमन्त्री लामिछानेको नाममा सहकारीसम्बन्धी उजुरी कहिँकतै नरहेको पत्र जारी गरेको थियो ।
इजलासले दरपीठको निर्णय बदर गरिदिएपछि उक्त रिट अब सर्वोच्चमा दर्ता हुने भएको छ । तल्ला निकायहरूमा अनुसन्धान भएको र हुन सक्ने विषयमा कुनै व्यक्तिले निवेदन दिएको भरमा महान्यायाधिवक्ताले सफाइसरहको पत्र जारी गर्न नपाउने भएकाले महान्यायाधिवक्ता कार्यालयबाट जारी भएको पत्र बदर गर्न रिटमा माग गरिएको छ।