
जनकपुरधाम, २९ जेठ : धनुषामा उत्पादित कटहर भारतीय बजारमा लोकप्रिय हुँदैगएको छ । विगतमा यातायातको सुविधा नभएका कारण नेपाली बजारमा मात्र बिक्री हुने कटहर अहिले भारतीय बजारमा बिक्रवितरण भइरहेको छ, जसबाट ग्रामीण क्षेत्रका युवाले आर्थिक लाभ लिन थालेका छन् । नेपाली कटहर स्वादिलो तथा पुष्टकर रहेकाले भारतीय भारतीय बजारमा यसको माग बढ्दै गएको स्थानीयले बताएका छन् ।
सीमावर्ती बजार हरिनेका कटहर व्यवसायी श्यामशङ्कर कामतले नेपाली कटहरको भारतीय बजारमा माग बढिरहेको बताउनुभयो । वैशाखदेखि भदौ महिनासम्म कटहरको राम्रो व्यवसाय हुने गरेकोले यस व्यवसायमा आफूजस्तै विभिन्न स्थानका करिब पाँचसय युवा संलग्न रहेको उहाँले बताउनुभयो ।
धनुषा जिल्लामा चार सय २८ हेक्टर जमिनमा कटहर खेती हुने गरेको तथा यसपटक चार हजार चार सय ६७ मेट्रिकटन कटहर फलेको कृषि ज्ञान केन्द्र धनुषाका बागबानी विकास अधिकृत प्रदीप यादवले जानकारी दिनुभयो । यसको तरकारी, आचार तथा पाकेपछि फलका रुपमा (कोवा) समेत खाने गरिएको उहाँले बताउनुभयो ।
धनुषामा प्रति हेक्टर २० देखि २५ मेट्रिकटनसम्म कटहर उत्पादन हुने गरेको धनुषा जिल्लामा यसवर्ष राम्रो उत्पादन भएको ज्ञान केन्द्रले जनाएको छ । खासगरी धनुषाको उतरीक्षेत्र ढल्केबजार, महेन्द्रनगर, पोर्ताहा, धारापानी, लालगढ र वयलवास लगायतका ग्रामीण क्षेत्रमा कटहरको उत्पादन अर्थात खेती हुने गरेकोले त्यहीबाट कटहर किनेर भारतीय बजारमा बिक्री गरेको व्यापारी राहुल साहले बताउनुभयो ।