फ्रान्सको आम निर्वाचनमा वामपन्थी गठबन्धनको अग्रता


बीबीसी । फ्रान्सको आम निर्वाचनमा त्यहाँको अति दक्षिणपन्थी न्याशनल र्याली अर्थात् आरएन दलले संसदीय निर्वाचनमा बहुमत ल्याउन असफल भएको प्रक्षेपणहरू भएका छन् ।
आधिकारिक मत परिणाममा त्यहाँ वामपन्थीहरूको न्यू पपुलर फ्रन्ट अर्थात् एनएफपी गठबन्धनले अग्रता लिएको देखिएको छ र उक्त गठबन्धन संसद्मा सबैभन्दा ठूलो शक्ति बन्ने निश्चित जस्तो छ । दोस्रोमा राष्ट्रपति एमानुएल माक्रोँको मध्यमार्गी गठबन्धन रहनेछ भने तेस्रो स्थानमा अति दक्षिणपन्थी आरएन देखिएको छ ।
आरएनका नेता जोर्डन बार्डेलाले आफ्नो दललाई विजयी हुनबाट ‘वञ्चित’ गरिएको तथा फ्रान्सलाई ‘अनिश्चितता र अस्थिरता’तर्फ धकेलिएको बताएका छन् । म्याक्रोँले मत परिणामको विश्लेषण गरिरहेको र उनले आजै त्यसबारे प्रतिक्रिया दिने अपेक्षा नगरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
समयअगावै गरिएको फ्रान्सको आम निर्वाचनमा यो दोस्रो चरणको मतदान थियो म्याक्रोँले एक महिनाअघि संसदीय चुनावको घोषणा गरेका थिए । युरोपेली संसद्को चुनावमा अति दक्षिणपन्थीहरूसँग हार बेहोरेपछि उनले चुनावको घोषणा गरेका हुन् ।
पहिलो चरणको निर्वाचनमा ‘आरएन’को पक्षमा नतिजा आउने देखिएपछि धेरै स्थानमा वामपन्थी र मध्यमार्गीहरूले अप्रत्यक्ष तालमेल गरेका थिए । कैयौँ स्थानमा वामपन्थी उम्मेदवारहरूले मनोनयन फिर्ता लिएका थिए भने कति स्थानमा मध्यमार्गीहरूले पनि त्यस्तै गरेका थिए ।
त्यसले गर्दा अति दक्षिणपन्थी विरोधी मत दुई तिर नबाँडिएर एउटै उम्मेदवारलाई जाने अवस्था बनेको थियो । त्यसलाई अति दक्षिणपन्थीहरूलाई हराउनका लागि गरिएको रणनीतिक तालमेलका रूपमा लिइएको छ।