नेपोलिअनले आत्महत्या गर्न प्रयोग गर्न खोजेको पेस्तोल १६.९ लाख युरोमा लिलाम

बीबीसी । फ्रान्सका सम्राट नेपोलिअन बोनापार्टको स्वामित्वमा भएका दुईवटा पेस्तोल १६.९ लाख यूरोमा लिलाम भएका छन्। कुनै बेला ती हतियार प्रयोग गरेर उनले आत्महत्या गर्न खोजेको बताइन्छ ।
पेरिसस्थित बन्दुक उत्पादक ‘लुई–मारिन गोसे’मा बनेका ती पेस्तोल १२ लाखदेखि १५ लाख यूरोमा बिक्री हुने अपेक्षा राखिएको थियो । ‘ओजनाट अक्शन हाउस’मा ती पिस्तोलको लिलामी गरिएको थियो ।
उक्त लिलाम गृह नेपोलिअनले सन् १८१४ मा गद्दी परित्याग गरेपछि आत्महत्या गर्ने प्रयास गरेको फोँटेन्ब्लो दरबारनजिकै छ । केही समयअघि फ्रान्सको संस्कृति मन्त्रालयले ती पिस्तोललाई ‘राष्ट्रिय सम्पत्ति’ घोषणा गर्दै तिनलाई विदेश पठाउन रोक लगाउने निर्णय गरेको थियो । ती पेस्तोल अस्थायी रूपमा मात्र फ्रान्सबाट बाहिर लैजान पाइन्छ ।
अब फ्रान्स सरकारले ती पेस्तोल किन्ने व्यक्तिसँग ३० महिनाभित्र ती हतियार सकार्न सक्छ । उनको नाम सार्वजनिक गरिएको छैन । ती दुवै पिस्तोलमा सुन र चाँदीका बुट्टा छन्। तिनमा नेपोलिअनको मुखाकृति पनि अङ्कन गरिएको छ ।
विदेशी फौजसँग आफ्नो सेना पराजित भएपछि नेपोलिअन बोनापार्ट सत्ता त्याग्न बाध्य भएका थिए। त्यसपछि सन् १८१४ को अप्रिल १२ को राति नेपालिअनले ती पिस्तोल प्रयोग गर्न खोजेको बताइन्छ ।
तर उनका वरिष्ठ सैन्य अधिकारी आर्माँ ड कोलाँकूरले ती पिस्तोलबाट बारुद हटाइदिएका थिए। त्यसपछि नेपोलिअनले विष सेवन गरे। तर उनको मृत्यु भएन । पछि नेपोलिअनले ती पिस्तोल कोलाँकूरलाई दिए । ती हतियार कोलाँकूरको परिवारको स्वामित्वमा रहँदै आयो ।