तालिबानले ओलम्पिकमा अफगान महिलाहरूलाई मान्यता दिँदैन– खेल अधिकारी

अफगानिस्तानको तालिबान सरकारले यस महिना पेरिस ओलम्पिक प्रतियोगितामा मुलुकको प्रतिनिधित्व गर्ने तीन महिला खेलाडीलाई मान्यता नदिएको उनीहरूको खेल विभागका प्रवक्ताले बताएका छन् ।
अन्तर्राष्ट्रिय ओलम्मिक समिति (आइओसी) ले अफगानिस्तानको ठूलो मात्रामा निर्वासित राष्ट्रिय ओलम्पिक समितिको परामर्शमा तीन महिला र तीन पुरुषसहित छ अफगान खेलाडीको टोलीलाई आमन्त्रण गरेको छ ।
“तीन खेलाडीले मात्र अफगानिस्तानको प्रतिनिधित्व गरिरहेका छन्”, तालिबान सरकारको खेल निर्देशनालयका प्रवक्ता अटल मशवानीले पुरुष खेलाडीलाई उल्लेख गर्दै भन्नुभयो, “हाल अफगानिस्तानमा महिलाहरूको खेल बन्द गरिएको छ, महिलाहरूको खेलको अभ्यास छैन भने उनीहरू राष्ट्रिय टोलीमा कसरी जान सक्छन् ?”
ओलम्पिक प्रतियोगितामा सहभागी तीन महिला र दुई पुरुष खेलाडी अफगानिस्तान बाहिर बस्दै आएका छन् । मुलुकमा प्रशिक्षण लिने एक मात्र जुडो खेलाडी हुन् । उनका दुई साथीले एथलेटिक्स र पौडीमा भाग लिनेछन् । महिला खेलाडीहरूले भने एथलेटिक्स र साइक्लिङमा प्रतिस्पर्धा गर्नेछन् ।
आइओसीले टोलीका बारेमा तालिबान अधिकारीहरूसँग परामर्श नगरेको र उनीहरूलाई प्रतियोगितामा आमन्त्रण नगरिएको बताएको छ ।
दुवै निर्वासनमा रहेका अफगानिस्तानको राष्ट्रिय ओलम्पिक समितिका अध्यक्ष र महासचिव अफगान टोलीको तयारी र सहभागिताका लागि एकमात्र वार्ताकार रहेको आइओसीका प्रवक्ता मार्क एडम्सले गत महिना पुष्टि गर्नुभएको थियो ।
तर मुलुकमै रहनुभएका अफगान समितिका प्रमुख कार्यकारी दाद मोहम्मद पेन्दा अख्तारीले महिला खेलाडीहरू विदेशमा सङ्गठित हुँदा उहाँको समितिले पुरुष खेलाडीलाई लिएर तालिबान अधिकारीहरूसँग समन्वय गरेको बताउनुभयो ।
सरकारले उनीहरूलाई प्रशिक्षण र छात्रवृत्तिमा सहयोग गरिरहेको प्रवक्ता मशवानीले बताउनुभयो । “हामी ओलम्पिकमा भाग लिने तीन पुरुष खेलाडीको मात्र जिम्मेबारी लिन्छौँ”, उहाँले भन्नुभयो ।
सहभागीहरूले तीन वर्षअघि अमेरिकी सैनिक फिर्ता भएपछि ढलेको पश्चिमी समर्थित सरकारको कालो, रातो र हरियो झन्डामुनि प्रतिस्पर्धा गर्नेछन् ।
सन् २०२१ मा सत्तामा फर्किएपछि तालिबान सरकारले महिलाहरूलाई खेलका साथै माध्यमिक विद्यालय र विश्वविद्यालयमा प्रतिबन्ध लगाएको छ । संयुक्त राष्ट्रसङ्घले प्रतिबन्धहरूलाई ‘लैङ्गिक रङ्गभेद’ भनेको छ ।