विराटनगरमा छुरा प्रहार गरी एक युवकको हत्या

69 Shares

विराटनगर । मोरङमा धारिलो हतियारले प्रहार गरी एक जना युवकको हत्या भएको छ । विराटनगर महानगरपालिका–२ मा रहेको नेपाल टेलिकम नजिकै धारिलो हतियारले प्रहार गरेर कटहरी गाउँपालिका–१, जमटोकीका २१ वर्षीय करण कामतको हत्या गरिएको हो । सोमबार राति १० बजेतिर नेपाल टेलिकमनजिक धारिलो हतियार प्रहारबाट गम्भीर घाइते भएका तीन जना युवक फेला परेका थिए ।

घाइतेमध्ये कटहरी गाउँपालिका–१ जमटोकीका २१ वर्षीय कामतको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक नवराज कार्कीले जानकारी दिए । उनका अनुसार कटहरी–१, जमटोकीकै २२ वर्षीय विक्रम मण्डल र १७ वर्षीय अमन राय गम्भीर घाइते छन् ।

मृतक कामतको छाती र कम्मरको भागमा चोट देखिएको एसपी कार्कीले बताए । घाइते रायको कोखा र ढाडमा तथा मण्डलको पाखुरा र ढाडमा चोट लागेको छ । घाइतेमध्ये रायको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घाइते दुवै जनाको नोबेल शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

घटनाबारे अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक कार्कीले बताए । घटनास्थलबाट एउटा मोबाइल पनि बरामद भएको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार

सबै