नैतिकताको पाठ नसिकाउन एमालेलाई माओवादीको चेतावनी

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले नेकपा एमालेलाई नैतिकताको पाठ नपढाउन चेतावनी दिएका छन् ।
मंगलबारको प्रतिनिधिसभा बैठकमा सांसद दाहालले दुई–दुई पटक संसद बिघटन गर्नेहरुले नैतिकताको कुरा गर्न नसुहाउने बताएका हुन् ।
प्रधामन्त्रीले विश्वासको मत लिन पाउने व्यवस्था संविधानमा रहेपछि राजीनामाको बिषयलाई नैतिकतासँग जोडेर अभिव्यक्ति आएका भन्दै आपत्ति जनाए । दाहालले एमालेको प्रस्तावकै कारण यसअघि प्रचण्डले कांग्रेससँगको सहकार्य तोड्दै एमालेसँग सहकार्य गरेको बताए ।
उनले कांग्रेस–एमालेबीच भएको सहमति बदनियतपूर्ण रहेको आरोप पनि लगाए । दाहालले बेचन झा पक्राउपछि सत्ता समीकरण परिवर्तनको अवस्था सिर्जना भएको दाबी गरे ।
उनले भने, ‘बेचन झा को हुन् हामीलाई थाहा छैन ? नेपाली जनतालाई थाहा छ । बेचैन झा को हुन् त्यो राम्रोसँग बालकोटलाई पनि थाहा छ बूढानीलकण्ठलाई पनि थाहा छ । बेचैन झा पक्राउ परेपछि अहिले बयान नलिनुस्, असार २८ गतेपछि मात्र लिनुस् भनेर फर्मान जारी भएको विषय पनि बजारमा आएको छ ।’
उनले एमाले–माओवादी केन्द्रको समीकरण भत्किनुका कारणबारे एमाले अध्यक्ष केपी शर्मा ओलीले जवाफ दिनुपर्ने बताए ।