
मोनिका सिंह, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को बोर्ड बैठकमा मुख्य प्रशिक्षक मोन्टी देसाईको राजीनामा माग गरिएको छ । बैठकमा टिम व्यवस्थापक, टिम लिडर र अन्य पदाधिकारीले गरेको विश्वकपको समीक्षा र विगतको प्रशिक्षकको गतिविधिका कारणले प्रशिक्षकसँग स्पष्टीकरण सोध्ने निर्णय भएपनि क्यानको बोर्ड बैठकपछि सचिव पारस खड्काले हस्ताक्षर गरेर सार्वजनिक गरेको विज्ञप्तिमा यी विषयमा भने कुनै निर्णय सार्वजनिक गरिएको छैन ।
अमेरिका र वेष्ट इन्डिजमा भएको टी-२० विश्वकपमा नेपालले राम्रो प्रदर्शन गरेपनि कुनै खेल जित्न सकेन । दक्षिण अफ्रिकाविरुद्ध उत्कृष्ट प्रदर्शन गर्दा गर्दै पनि अन्तिममा १ रनले पराजित भएको थियो । नेदरल्याण्ड्स र बंगलादेशसँग पनि खराब ब्याटिङका कारण पराजित भएको थियो । श्रीलंका विरुद्ध वर्षाका कारण नेपालले अंक बाँडेको थियो ।
मुख्य प्रशिक्षक मोन्टी देसाईको हालको सम्झौता २०२५ फेब्रुअरीसम्म रहेको छ । तर पछिल्लो समय नेपालले नतिजा ल्याउन नसकेपछि र उनले क्यानलाई आर्थिक रुपम दोहन गरेकाले प्रशिक्षकलाई हटाउनुपर्ने मागहरु क्यान र आमफ्यानहरुले पनि गर्न थालेको छन् ।
के हो त मुख्य विवाद ?
नेपाली क्रिकेट टिमको गुजरात भ्रमणका बेला भएका गतिविधि र नेपालको टी-२० विश्वकपको प्रदर्शनपछि प्रशिक्षक मोन्टी देसाईको आलोचना भएको हो र क्यानभित्रै उनले राजीनामा दिनुपर्ने विषय उठाएका हुन् । पछिल्लो समय प्रशिक्षक देसाईलाई धेरै अधिकार दिएको र उनले त्यही गलत फाइदा उठाएको आरोप छ । बैठकमा टी-२० विश्वकपमा नेपालको प्रदर्शन त्यसबेला उत्पन्न भएका विवादहरुदेखि प्रशिक्षकको गम्भीर आलोचना भएको स्रोतले जनाएको छ ।
गत मार्चमा नेपाली टोली गुजरातमा भएको एसएमएस टी–२० फ्रेण्डसिप कप खेल्न गएको थियो । त्यसमा गुजरात र बारोडाको स्टेट टिमसँग नेपालले साइ मेगपान स्पोर्ट्स लाइफ मैदानमा खेलेको थियो । त्यो मैदान मोन्टी देसाईकै थियो र सम्पूर्ण खर्च उनीमार्फत उनको कम्पनीमा गरिएको थियो । उक्त प्रतियोगितामा स्टेटको टिम भनिएपनि नेपाललाई अत्यन्त कमजोर टोलीसँग अभ्यास खेल खेलाइएको थियो । उक्त खेलमा उपलब्धि भन्दा धेरै अनावश्यक खर्च भएको श्रोतको दावी छ ।
आफ्नै मैदानमा खेलाएको र आफ्नै निकट कम्पनीहरुमा महँगोमा क्रिकेट किट्सहरु किन्न लगाएर ठूलो रकम खर्च गरेको आरोप पनि मोन्टीलाई छ । क्यानले भारत जाँदा एउटा बजेट पठाएको र फर्केर आउँदा त्यसको दोब्बर बजेट क्यानमा पेश गरेका थिए ।
क्यानमा पछिल्लो समय मोन्टी हावी भएको र पारसलाई आफ्नो फेभरमा लिएर दुई जनाले मिलेर काम गरेको आरोप लाग्दै आएको छ । श्रोतका अनुसार प्रशिक्षकको संलग्नता रहेको बिभिन्न भारतीय कम्पनी मार्फत लाखौ पैसा तलब र सामान किन्ने नाउँमा भारत गएको छ । प्रशिक्षकले आफूलाई मनपर्ने व्यक्तिलाई बलर र ब्याटिङ कन्सल्टेन्ट राख्ने , फिजियो राखेर समेत आर्थिक लाभ लिएको आरोप छ ।
त्यस्तै नेपाली राष्ट्रिय टिम छनोटमा समेत प्रशिक्षकको प्रत्यक्ष हस्तक्षेप रहने गरेको छ । बैठकमा यस बारे धेरै विवाद भएपछि अब स्वतन्त्र र अधिकार सम्पन्न छनोट समिति बनाउने निर्णय समेत भएको र अबदेखि प्रशिक्षकलाई छनोटमा संलग्न हुने नदिने निर्णय पनि भएको छ ।
हाल प्रशिक्षक मोन्टीको मासिक तलब करिब २२ लाख रुपैयाँ छ । उनी हायात होटलमा बस्छन् । जहाँ प्रत्येक दिन उनका लागि क्यानले करिव १० हजार खर्च बेहोर्दै आएको छ । उनको प्रोफाइल र क्षमता हेर्दा यो सुबिधा अत्यधिक भएको र यति सुविधामा उनीभन्दा धेरै राम्रो प्रशिक्षक क्यानले राख्न सक्ने देखिन्छ ।
नेपालले आगामी सेप्टेम्बमा क्यानडा र अक्टोबरमा अमेरिकाका क्रिकेट विश्वकप लिग टु का सिरिज खेल्ने तालिका छ । बैठकमा भएको विवादका बावजुत मोन्टीलाई त्यो सिरिजसम्म राख्ने क्यानको तयारी छ । यसरी हेर्दा प्रशिक्षकमार्फत क्यानमा केहि व्यक्तिले ठुलो अनियमितता गरेको शंका गर्न सकिन्छ ।
यसैगरी बैठकमा क्यान सचिव पारस खड्काको पछिल्लो गतिविधिहरुमा क्यान भित्रैबाट प्रश्न उठेको थियो । विश्वकप खेल्न अमेरिका गएका क्रिकेट खेलाडीलाई जर्सी बोकाएर पठाएको, विश्वकप तयारी खर्च सार्वजनिक नगरेको जस्ता विषयमा सचिव पारसले स्पष्ट जवाफ दिनुपर्ने र त्यसो नगरेमा उनले राजीनामा दिनुपर्ने सम्मको कुरा उठेको थियो । क्यानकै सदस्यले सचिव पारसको गतिविधि ठिक नरहेकोले तत्काल राजीनामा दिनुपर्ने माग राखेका थिए ।
टी-२० विश्वकपमा नेपाली टिमका व्यवस्थापक रहेको प्रदीप मजगैयाले विश्वकपमा नेपालको प्रदर्शनदेखि आफूले देखेको सबै विषय समेटेर प्रतिवेदन क्यानलाई बुझाएको बताएका छन् । तर उनको प्रतिवेदनमा के-के उल्लेख छ भन्ने कुरा सार्वजनिक भएको छैन । हाम्रो फोन सम्पर्कमा आएका मजगैयाँले प्रतिवेदन दिन नमिल्ने बताए, ‘आवश्यक सूचना क्यानबाट प्रक्रिया पुरा गरेर लिन अनुरोध गरे ।’ यसअघि नेपाल वान एचडीसँगको कुराकानीमा मजगैयाँले आफूले प्रतिवेदन बुझाउने बताएका थिए । विभिन्न अन्तरवार्ता र पत्रकार सम्मेलनमा पनि प्रतिवेदन बुझाउने बताएका थिए । यता प्रशिक्षक परिवर्तन गर्नुपर्छ भनेर चर्चा पनि चल्नु, व्यवस्थापकले प्रतिवदेन बुझाउँछु भन्नु र अहिले दिन मिल्दैन भन्नु सुचना लुकाउनु कतिसम्मको जायज हो ? गम्भीर प्रश्न उठेको छ ।