
काठमाडौं । परराष्ट्र मन्त्रालयले बङ्गलादेशमा विकसित पछिल्लो घटनाक्रमका कारण समस्यामा परेका नेपाली विद्यार्थीको सहयोगका लागि ‘हेल्प डेस्क’ स्थापना गरेको छ ।
मन्त्रालयले शनिबार सूचना जारी गरी त्यहाँ रहेका विद्यार्थीको सहजताका लागि आवश्यक सम्पर्क व्यक्तिसहित हेल्प डेस्कको व्यवस्था गरिएको जनाएको छ ।
समस्यामा परेका विद्यार्थी तथा अभिभावक एवं आफन्तका लागि आवश्यक जानकारी, सहयोग र सहजीकरणका लागि मन्त्रालयले निर्धारण गरेको इमेल वा फोन नम्बरमा सम्पर्क गर्न एवं अनलाइन फाराम भर्न मन्त्रालयले अनुरोध गरेको छ ।
सम्पर्कका लागि नेपाली राजदूतावास ढाकामा द्वितीय सचिव योजना बम्जन र रिया क्षेत्री तथा सिंहदरबारस्थित मन्त्रालयमा सम्पर्कका लागि शाखा अधिकृत महेश्वरमणि त्रिपाठीलाई सम्पर्क गर्न अनुरोध गरिएको छ ।
त्यसका अतिरिक्त भविष्यमा पुनः सहयोग आवश्यक पर्नसक्ने सन्दर्भमा आफू अध्ययनरत विश्वविद्यालय, कलेज वा शैक्षिक संस्थाको नाम र ठेगाना मन्त्रालयलाई जानकारी गराइदिनसमेत अनुरोध गरिएको सूचनामा उल्लेख छ ।
बंगलादेशबाट आठ सय नेपाली विद्यार्थी नेपाल आउँदै
यसैबीच परराष्ट्रमन्त्री डा. आरजु राणाले आठसय नेपाली विद्यार्थी हवाई र स्थलमार्ग हुँदै नेपाल आउँदै गरेका जानकारी दिएकी छन् । शनिबार राति सामाजिक संजालमार्फत मन्त्री राणाले आठसय नेपाली विद्यार्थीहरु हवाई वा स्थलमार्ग हुँदै बंगलादेशबाट नेपाल आउँदै गरेका जानकारी दिएकी हुन् ।
ढाकास्थित नेपाली दूतावासले विद्यार्थीहरूलाई बंगलादेशका विभिन्न स्थानहरूबाट ढाका विमानस्थल लगायत अन्य सीमा नाकाहरूमा सुरक्षित यात्राको लागि समन्वय गरिरहेको उनले जानकारी दिएकी छन् । उनले भनेकी छन्, ‘हामीले बंगलादेशका विश्वविद्यालयहरू, सम्बन्धित निकायहरू र कानून प्रवर्तन एजेन्सीहरूसँग नजिकबाट समन्वय गर्दै आएका छौं । नेपाल सरकार सबै नेपाली विद्यार्थीहरूको सुरक्षा सुनिश्चित गर्न प्रतिबद्ध छ।’