
मोनिका सिंह, काठमाडौं । काभा वुमन्स भलिबल नेसन्स लिग आजदेखि काठमाडौंमा सुरु हुँदैछ । प्रतियोगिताको उद्घाटन खेलमा घरेलु टोली नेपालले श्रीलंकासँग खेल्दैछ ।
खेल त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा दिउँसो सवा ३ बजे सुरु हुनेछ । त्यसअघि युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले प्रतियोगिताको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
नेपाल र श्रीलंका तीन वर्षपछि एक आपसमा खेल्न लागेका हुन् । यसअघि सन् २०२१ मा बंगलादेशमा भएको एभिसी एसियन सेन्ट्रल जोनमा नेपाल र श्रीलंका भिडेका थिए । जहाँ नेपालले पाँच सेटम चलेको खेलमा श्रीलंकालाई ३२ ले पराजित गरेको थियो । आजै साँझ पौने ६ बजे भारत र इरानबीच पनि प्रतिस्पर्धा हुनेछ ।
काभा नेसन्स लिगमा सेन्ट्रल एसियाका क्याटेगोरी ए र क्याटेगोरीका बी का पाँच टोलीले यस प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन् ।
प्रतियोगितामा नेपाल र श्रीलंकासहित भारत, माल्दिभ्स र इरानको सहभागिता छ । इरान पहिलो पटक नेपालमा आएर खेल्दैछ ।
भारत र इरानलाई नेपालले अहिलेसम्म हराउन सकेको छैन । यस पटक दुवै बलिया टोलीलाई पराजित गर्दै उपाधि जित्ने नेपालको लक्ष्य छ । नेपालले काभा नेसन्स लिगअघि तयारी स्वरुप रसियन टिमसँग काठमाडदंमा दुई मैत्रीपूर्ण खेल खेलेको थियो । जसबाट नेपालले बफ्नो कमीकमजोरी सच्याउने मौका पाएको प्रशिक्षक र कप्तानको भनाई छ ।
काभा वुमन्स नेसन्स लिग राउण्ड रोविन लिगका आधारमा सञ्चालन हुनेछ । लिग चरणको खेलपछि सेमिफाइनल र फाइनल खेल हुनेछ ।
लिगमा शीर्ष चारमा रहने टोली सेमिफाइनल पुग्नेछ भने पाँचौ स्थानमा रहने टोली बाहिरिनेछ ।
लिगमा पहिलो हुने र चौथो हुने तथा दोस्रो र तेस्रो हुनेबीच सेमिफाइनल हुनेछ । सेमिफाइनलका विजेता टोलीबीच अगष्ट ७ मा फाइनल खेल हुनेछ ।
नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्र बहादुर चन्दले महिला भलिबल नेपालमा धेरै चर्चित रहेको र कभर्डहलभर दर्शकको उपस्थिती हुने अपेक्षा राखेका छन् । उनले दर्शकहरुलाई मध्यनजर गर्दै नयाँ कभर्डहल निर्माणका लागि तयारी गरिरहेको बताए ।
यस्तै टेक्निकल डेलेगेट्स साराह हेसाबीले नेपालमा प्रतियोगिता बयोजनाका लागि राम्रो व्यवस्था गरेको र सन्तुष्ट रहेको बताइन् ।