
काठमाडौं । काभा महिला भलिबल लिगमा नेपालले विजयी शुरुवात गरेको छ । बिहीबार त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा भएको उद्घाटन खेलमा नेपालले श्रीलङ्कालाई ३–० को सोझो सेटमा पराजित गरेको हो ।
नेपालले पहिलो सेट २५–१९, दोस्रो सेट २५–१८ र तेस्रो सेट २५–१९ ले जित्यो । जीतसँगै नेपालले ३ अङ्क जोडेको छ । आजको खेलमा नेपालका सुमित्रा रेग्मी र आरती सुवेदीले राष्ट्रिय टोलीबाट डेब्यु गरेका छन् ।
आजै अर्काे खेलमा बेलुकी सवा ६ बजे इरान र भारत खेल्दैछन् । अब नेपालले दोस्रो खेलमा भोलि भारतसँग, तेस्रो खेलमा २ गते आइतवार माल्दिभ्ससँग र चौथो खेलमा २१ गते सोमबार इरानसँग खेल्ने तालिका छ । लिग चरणको खेलपछि शीर्ष चारमा रहने टोलीबीच सेमिफाइनल हुनेछ ।
लिगमा पहिलो र चौथो तथा दोस्रो र तेस्रो टोलीबीच अन्तिम चारमा प्रतिस्पर्धा हुनेछ । फाइनल खेल २३ गते बुधवार हुनेछ । प्रतियोगितामा नेपालसहित भारत, श्रीलङ्का, माल्दिभ्स र इरान गरी पाँच वटा देशले प्रतिस्पर्धा गर्दैछन् ।