
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीको पन्ध्रौँ महाधिवेशन लम्ब्याउने कुनै प्रपञ्च नगर्न सभापति शेरबहादुर देउवालाई आग्रह गरेका छन् ।
पार्टीको जारी केन्द्रीय समितिको बैठकमा लिखित प्रस्ताव पेस गर्दै कोइरालाले समयबद्ध कार्यतालिका बनाएर यथासमयमा पार्टी महाधिवेशन सम्पन्न गर्ने तयारीमा जुट्न आग्रह गरेका छन् ।
उनले भनेका छन्, ‘मेरो आग्रह सबै केन्द्रीय कार्यसमितिलाई साक्षी राखेर के मात्र छ भने कांग्रेसको पन्ध्रौँ महाधिवेशन लम्ब्याउने कुनै प्रपञ्च नगरौँ । पार्टीको विधान र नियमावलीमा गर्नुपर्ने संशोधनका लागि अविलम्ब समितिहरू बनाऔँ । १४औँ महाधिवेशनदेखि थाँती रहेका क्रियाशील सदस्यतालगायतका समस्याहरू तत्काल समाधान गरी २०८२ मंसिरमा १५औँ महाधिवेशन गर्ने सुनिश्चितता यही केन्द्रीय समिति बैठकले गरोस् । यो वा त्यो बहानामा महाधिवेशन सार्ने काम भयो भने त्यसले कांग्रेस र लोकतन्त्र दुवैलाई दुर्घटनातर्फ लैजान्छ । ठीक चार वर्षमा कांग्रेसको महाधिवेशन होस् । मैले यसो भनिरहँदा म यहाँ बिग्रिएको प्रणालीलाई ट्रयाकमा ल्याउने मनसायबाट यो कुरामा जोड दिइरहेको छु । म क्रियाशील सदस्यता वितरण र महाधिवेशनका लागि जिम्मेवारी पाएका साथीहरूलाई पनि समयबद्ध कार्यतालिका बनाएर यथासमयमा पार्टी महाधिवेशन सम्पन्न गर्ने तयारीमा जुटौँ भनी विनम्रतापूर्वक अनुरोध गर्न चाहन्छु ।’
त्यस्तै उनले अहिले राजनीतिमा लोकरिझ्याइँ हावी भएको भन्दै पार्टीलाई त्यसले क्षति पुर्याउन सक्ने बताएका छन् । उनले भनेका छन्, ‘अहिले राजनीतिमा लोकरिझ्याइँ हावी भएको छ । हाम्रो पार्टी पनि लोकरिझ्याइँबाट अछुतो छैन । कांग्रेस पार्टीको आफ्नै मौलिकता, आदर्श र सिद्धान्त छ तर अहिले यसलाई बिर्सेर सामाजिक सञ्जाल र लोकरिझ्याइँले पार्टीलाई डोर्याउन खोजेको जस्तो देखिन्छ । यसले पार्टी कहाँ पुग्छ बेलैमा सोचौँ ।’
उनले गठबन्धन सरकारको नेतृत्व कांग्रेसको प्रतिष्पर्धी राजनीतिक दलले गरिरहेको हुँदा भावी दिनमा के गर्लान् भनेर अड्कल काट्न नचाहने उल्लेख गर्दै सरकारमा गएका मन्त्रीहरुले विश्वास जित्नेगरी काम नगरे ठुलो गिरावट आउन सक्ने बताएका छन् ।
यस्तो छ कोइरालाको लिखित प्रस्ताव
१. आजभन्दा झण्डै पाँच दशकअगाडि नेपाली कांग्रेसका पथप्रदर्शक जननायक बीपी कोइराला दक्षिण एसियामा उत्पन्न राजनीतिक उतारचढावले नेपालको राष्ट्रियता कमजोर हुन्छ भनी प्रवासबाट स्वदेश फर्कनुभएको थियो । प्रजातन्त्र र राष्ट्रियता एक अर्काका पूरक हुन् र यिनलाई भिन्न-भिन्न रूपमा हेर्नु हुन्न भन्ने उहाँको मान्यता थियो ।
आज फेरि एकपटक दक्षिण एसियामा राजनीतिक हलचल छाएको छ । निर्वाचित सरकारहरूमाथि धावा बोलिएको छ । जनताको अभिमतप्रति अविश्वासको खाडल निर्माण गरिँदै छ । अर्थात् दक्षिण एसिया अन्तर्राष्ट्रिय राजनीतिको क्रीडास्थल भएर नेपाल जस्तो देश चेपुवामा पर्ने सम्भावना बढेको छ ।
२. दक्षिण एसियाको राजनीतिक द्वन्द्वले नेपाल र नेपालीको मनोभावमाथि प्रभाव परेको म बुझ्दछु । यसमा यो केन्द्रीय कार्यसमिति गम्भीर हुनुपर्छ भनी मैले माथि बीपी कोइरालाको स्मरण गर्नुपरेको हो । मुलुक नसोचिएको संकटतर्फ जाने हो कि भन्ने चिन्ता सबै नेपालीमा छाएको छ । राष्ट्रियता र लोकतन्त्र कमजोर हुँदा घरेलु प्रतिक्रियावादी मात्र होइन, अन्तर्राष्ट्रिय शक्ति केन्द्रले पनि हामीमाथि रजाइँ गर्न पछि पर्दैनन् ।
३. बंगलादेशको घटनाले हामी सबैलाई उद्वेलित गरेको हुनुपर्छ । नेपालमा बंगलादेशको जस्तो घटना दोहोरिन नदिन राजनीतिमा मूल्यपद्धति र नैतिक पक्ष शसक्त हुनुपर्छ भन्ने पाठ बंगलादेश घटनाले हामीलाई सिकाएको छ । नेता र राजनीतिप्रति जनताको वितृष्णा बढ्दो छ । राजनीतिक दल, नेता, प्रणाली र संविधानमाथि नै जनता असन्तुष्ट छन् भनी अहिले नेपालमा एउटा ‘वेभ’ सिर्जना गर्न खोजिँदै छ । यसलाई मध्यनजर गर्दै राष्ट्रिय राजनीति अन्तर्राष्ट्रिय राजनीतिमा देखिएको असंगति र अस्थिरतालाई देशको जिम्मेवार र ठूलो दल भएको नाताले गम्भीरतापूर्वक सोचौँ ।
४. वर्तमान गठबन्धन सरकार निर्माणको क्रममा संविधान सुधार र राजनीतिक स्थायित्वको कुरा गम्भीरतापूर्वक उठाइएको छ । छिटो-छिटो सरकार गठन र विघटन भैरहँदा विकासका गति अगाडि बढेनन् र जनताले सुशासनको अनुभूति गर्न पाएनन् भनेर मैले नै केही समयअगाडिदेखि भन्दै आइरहेको हुँ । तसर्थ दुई ठूला दल मिलेर सरकार बनाऔँ र संविधान संशोधनमार्फत देशमा राजनीतिक स्थायित्व दिऔँ भन्ने आवाज उठाएको हुँ ।
वर्तमान गठबन्धनको प्रमुख कार्यभार संविधान संशोधनको प्रकिया अगाडि बढाउने हो । नि:सन्देह दुई ठूला दल मिल्नुको औचित्य संविधान संशोधनलगायत साझा राष्ट्रिय कार्यसूची बनाएर जनभावनाअनुसार कार्यान्वयनमा लैजान सक्दा आमजनताको भरोसा र विश्वास जित्न सकिन्छ । नेपालको संंविधान आमनेपालीको साझा दस्तावेज हो । यसमा गरिने सुधारको प्रक्रिया अगाडि बढाउँदा संविधानको स्वीकारोक्तिमा आमनेपाली भावना जोडिनुपर्छ । त्यस्तै, साझा राष्ट्रिय कार्यसूची बनाउँदा नेपाली कांग्रेसले आफ्नो घोषणापत्रमा भएका प्रतिबद्धताहरूलाई बिर्सन मिल्दैन ।
दुई ठूला दल मिलेर बनेको सरकार वर्तमान परिस्थितिमा संसदीय गणितको घमण्ड र राजनीतिक आग्रह र पूर्वाग्रहमा अल्झेर होइन, सोझै जनताप्रति उत्तरदायी हुन सक्दा मात्र अहिले देखिएका अनेकन लोकतन्त्रविरोधी शक्तिलाई परास्त गर्न सकिन्छ ।
५. वर्तमान सरकार गठनको सन्दर्भमा नेपाली कांग्रेस र एमालेले सुशासनको धेरै प्रतिबद्धता गरेका छन् । तर, व्यवहारमा संघ र प्रदेशमा मन्त्रीहरू छनोटले सुशासनलाई जिस्काइरहेको छ । हामी किन यसरी सुशासनको सन्दर्भमा बारम्बर चुक्दै छौँ ?
६. सरकार छ भन्ने अनुभूति आमनागरिकलाई संकटको समय सबैभन्दा बढी हुन्छ । अहिले ती नेपालीहरूका बीच सरकार पुग्नुपर्छ जो बाढी, पहिरो, दुर्घटना र प्राकृतिक प्रकोपका अनेकन समस्याहरूसँग जुधदै छन् । तिनको उद्धार, राहत, उपचार र पुनर्स्थापना सरकारको प्रमुख दायित्य हो । म चाहन्छु– हामी संलग्न भएको सरकारले यस मानवीय कार्यलाई एकछिन पनि ढिलो नगरी सम्बोधन गर्ने सक्रियता देखाओस् ।
लोकतन्त्रमा मूल कुरा जनता र सरकारबीचको सम्बन्ध हो, सरकारप्रति आमनागरिकको भरोसा र विश्वास हो । यस्तो भरोसा र विश्वास सिर्जना गर्ने निकायहरू सरकारी सेवाप्रदायक संंवैधानिक संस्था र निकायहरू हुन् ।
सरकारी निकायमा राजनीतीकरण भएर तिनको प्रभावकारिता भुत्ते भएका छन् भनी हामीलाई स्वीकार्न कुनै संशय छैन । तर पनि केही सरकारी निकाय र संस्थाहरूले यसबीच नेपाली जनतामाझ आफ्नो औचित्य र उपादेयता प्रमाणित गरेका छन् । यस्ता संस्था र निकायहरूमा भएका कैयन् व्यक्तिले प्रतिकूल परिस्थितिमा पनि राष्ट्रले गौरव गर्ने काम गरेर अन्तर्राष्ट्रिय रूपमा पनि ख्याति कमाएका छन् ।
यहाँ म उदाहरण प्रस्तुत गर्न चाहन्नँ, तर खबरदारी भने नगरिरहन सक्दिनँ । फोहोरी राजनीतिक खेलको दुष्चक्रमा राष्ट्र निर्माणमा योगदान गरिरहेका मानिसहरू नपरून् । कसैप्रति राजनीतिक आस्थाविपरीत छ भनी बदलाको भावना राखी कारबाही नहोस, यसमा नेपाली कांग्रेस सतर्क हुन जती जरुरी छ वर्तमान सरकारलाई पनि त्यस दिशातर्फ जान नदिन सचेत गराउन पनि त्यत्तिकै जरुरी छ । लोकतन्त्रको जग तब मात्र बलियो हुन्छ, जब संस्थालाई लोकतन्त्रीकरण र पारदर्शी ढंगले चलाइन्छ ।
७. प्रदेश संरचनाका सम्बन्धमा
क) वर्तमान संविधान जारी भएको यतिका वर्ष भइसक्दा पनि प्रदेशले संविधानअनुरूप पाउनुपर्ने अधिकार पनि पाएका छैनन् । खासगरी वित्तीय संघीयता र प्रशासनिक संघीयतामा देखिएको कमजोरीले संघीयतासम्बन्धी गुनासो छ र यसको औचित्य स्थापित गर्न अप्ठ्यारो भइरहेको छ । तसर्थ दुई ठूला दल मिलेर सरकार बनाउनुको सार्थकता प्रदेशलाई हरेक प्रकारले सशक्त र प्रभावकारी बनाउनेतर्फ पहल गर्नुपर्छ ।
ख) नेपाली कांग्रेसको विधानमा प्रदेश कार्यसमितिलाई अझ बलियो बनाउने गरी विधान संशोधन गरौँ । केन्द्रले नियमन गर्ने र प्रदेशले कार्यक्रम गर्ने गरी संगठनका काम गर्ने व्यवस्था गरौँ ।
सभापतिज्यू,
८. तपाईंको नेतृत्वमा विगत आठ वर्षदेखि कांग्रेसले राष्ट्रिय राजनीतिमा निर्वाह गरेको भूमिकाको समीक्षा म यहाँ गर्न चाहन्नँ । कांग्रेस हिजो किन खुम्चियो र आज फेरि किन गठवन्धनको कारण ठूलो दलको रूपमा संसदमा उपस्थित छ, यद्यपि कांग्रेसको जनाधार खुम्चिएको निर्वाचनले देखाएको छ । यी सबैको वस्तुनिष्ठ समीक्षा गर्ने जिम्मा म इतिहासलाई छोडिदिन्छु ।
मेरो आग्रह सबै केन्द्रीय कार्यसमितिलाई साक्षी राखेर के मात्र छ भने कांग्रेसको पन्ध्रौँ महाधिवेशन लम्ब्याउने कुनै प्रपञ्च नगरौँ । पार्टीको विधान र नियमावलीमा गर्नुपर्ने संशोधनका लागि अविलम्ब समितिहरू बनाऔँ । १४औँ महाधिवेशनदेखि थाँती रहेका क्रियाशील सदस्यतालगायतका समस्याहरू तत्काल समाधान गरी २०८२ मंसिरमा १५औँ महाधिवेशन गर्ने सुनिश्चितता यही केन्द्रीय समिति बैठकले गरोस् । यो वा त्यो बहानामा महाधिवेशन सार्ने काम भयो भने त्यसले कांग्रेस र लोकतन्त्र दुवैलाई दुर्घटनातर्फ लैजान्छ । ठीक चार वर्षमा कांग्रेसको महाधिवेशन होस् । मैले यसो भनिरहँदा म यहाँ बिग्रिएको प्रणालीलाई ट्र्याकमा ल्याउने मनसायबाट यो कुरामा जोड दिइरहेको छु । म क्रियाशील सदस्यता वितरण र महाधिवेशनका लागि जिम्मेवारी पाएका साथीहरूलाई पनि समयबद्ध कार्यतालिका बनाएर यथा समयमा पार्टी महाधिवेशन सम्पन्न गर्ने तयारीमा जुटौँ भनी विनम्रतापूर्वक अनुरोध गर्न चाहन्छु ।
९. अब पनि पार्टीलाई विधानअनुसार समयबद्ध तरिकाले सञ्चालन गर्ने परिपाटी नचलाई कहिलेबाट यो संस्कार विकसित गर्ने ? समय गुज्रेर गरिने कुनै पनि कार्य प्रभावकारी हुँदैन । अहिले पनि नबुझे कहिले बुझ्ने ? जसरी समय गुज्रेको औषधिले बिरामी निको पार्दैन, त्यसैगरी समयमा सम्पन्न हुनुपर्ने पार्टीका कामहरू नगर्दा त्यसको प्रभावकारिता हुन्न ।
१०. अहिले राजनीतिमा लोकरिझ्याइँ (पपुलिज्म) हावी भएको छ । हाम्रो पार्टी पनि लोकरिझ्याइँबाट अछुतो छैन । कांग्रेस पार्टीको आफ्नै मौलिकता, आदर्श र सिद्धान्त छ तर अहिले यसलाई बिर्सेर सामाजिक सञ्जाल र लोकरिझ्याइँले पार्टीलाई डोर्याउन खोजेको जस्तो देखिन्छ । यसले पार्टी कहाँ पुग्छ बेलैमा सोचौँ ।
अन्त्यमा, गठबन्धन सरकारको नेतृत्व हाम्रो राजनीतिक प्रतिस्पर्धीले गरिरहेका छन् । म यहाँ हाम्रो राजनीतिक प्रतिस्पर्धी कस्ता छन र भावी दिनमा के गर्लान् भनी अड्कल काट्न चाहन्नँ । तर, अहिले सरकारमा गएका हाम्रा साथीहरूले जनताको विश्वास र मन जित्ने गरी काम गर्न सकेनन् भने हाम्रो पार्टीमा नसोचेको गिरावट आउने खतरा म देख्छु ।
सुशासन केवल शब्द रटान र पार्टीको घोषणापत्रमा लेखिने कुरा मात्र होइन, आमनागरिकले अनुभूति गर्ने कुरा हो । कांग्रेस नवनिर्माणको बाटो पार्टीमा मूल्य र सिद्धान्तको नवनिर्माण अभियान, सरकारमा गएकाहरूको सुशासनप्रतिको निष्ठा र पार्टीमा आबद्ध साथीहरूको एकताबद्ध प्रयासबाट मात्र कांग्रेस रूपान्तरण सम्भव छ, तसर्थ भविष्यको कांग्रेसको नयाँ राजमार्ग यिनै बाटोबाट मात्र बन्छ भनी विश्वासका साथ हामी अघि बढौँ । जय नेपाल ।