रवि लामिछाने क्लबबाट निस्कासित भएको हुँः मुकुल ढकाल

NepalOne ११ भदौ २०८१ १२:१४
प्रमुख खबर

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको साधारण सदस्यबाटसमेत निस्कासित भएका डा. मुकुल ढकालले आफू पार्टीबाट नभई रवि लामिछाने क्लवबाट निस्कासित भएको प्रतिक्रिया दिएका छन् ।

मंगलबार पार्टीको केन्द्रीय समितिको बैठकले पार्टीबाट निस्कासित गरेपछि सामाजिक संजालमार्फत ढकालले राष्ट्रिय स्वतन्त्र पार्टीबाट निस्कासन गर्ने अधिकार क्लबलाई नभएको प्रतिक्रिया दिएका हुन् ।

ढकालले भनेका छन्, ‘रवि लामिछाने क्लबबाट निस्कासित भएको हुँ । राष्ट्रिय स्वतन्त्र पार्टीबाट निस्कासन गर्ने अधिकार क्लबलाई छैन । न्यायिक निकायले क्लबको कारबाहीलाई बदर गरेपछि, नैतिकताको आधारमा रवि लामिछानेले पार्टीको साधारण सदस्यबाट राजीनामा दिनपर्छ । नैतिकरूपले पतित पात्र रवि लामिछानेबाट मैले नैतिकताको अपेक्षा त गर्न नमिल्ला, तर पनि उनी कतिसम्म पतित रहेछन्, हेर्दै जाउँला , समयले पुष्टी गर्दै जानेछ ।’

ढकालले सहकारी प्रकरणका सवालमा रवि लामिछानेले आम जनतालाई भ्रमित पार्ने गरि भाषणबाजी गर्दै हिँडेको आरोप लगाएका छन् ।

उनले भनेका छन्, ‘र अर्को कुरा, सहकारी प्रकरणका सवालमा रवि लामिछानेले आम जनतालाई भ्रमित पार्ने गरि भाषणबाजी गर्दै हिँडका छन्, आफूविरूद्ध आएका प्रमाणलाई कीर्ते भन्दै जनतामा भ्रम छरी राजनीति गरिराखेका छन् । यसरी न्याय सम्पादनको प्रक्रियालाई खलल पुर्याउने दुस्साहस गर्दैछन् । सम्बन्धित निकायको ध्यान जाओस् । र फेरि पनि नैतिकरूपले पतित रविलाई नैतिकता कै प्रश्न, अनुसन्धानमा रहिरहेको विषयउपर भ्रम छर्न नलाग्नुहोस्, एउटा पूर्व गृहमन्त्रीलाई त्यो शोभा दिँदैन ।’


प्रतिक्रिया