श्रीलङ्कामा वामपन्थी झुकाव भएका उम्मेदवार राष्ट्रपति निर्वाचनमा अगाडि

47 Shares

बीबीसी । श्रीलङ्काको मतगणनाको प्रारम्भिक आँकडाले देशका वामपन्थी उम्मेदवार अनुरा कुमारा दिशानायकले अग्रता लिइरहेको देखाएको छ । सुरुमा हुलाकबाट पठाइएका मतपत्रहरूको गणना गरेर शनिबार मतदानका क्रममा खसाइएका मतपत्रहरूको गणना गरिनेछ ।

मतदान शान्तिपूर्ण रूपमा सम्पन्न भएपनि गएराति कर्फ्यु लगाइएको थियो र त्यसलाई आइतवार अपरान्हसम्म कायम राखिएको छ ।

निर्वाचनलाई अर्थतन्त्रलाई सञ्चालन गर्ने सरकारको तरिकामाथिको जनमतसङ्ग्रहका रूपमा हेरिएको थियो ।
चुनावमा करिब ७० प्रतिशत मत खसेको थियो र कीर्तिमानी ३८ जना उम्मेदवारहरूले मुलुकको सर्वोच्च पदका लागि दाबी गरेका थिए ।

सन् २०२२ मा हालसम्मकै खराब आर्थिक सङ्कट उत्पन्न भएपछि श्रीलङ्कामा भएको जनआन्दोलनले देशका नेता गोटाबय राजक्षलाई पदबाट बर्खास्त गरेपछि शनिबारको पहिलो चुनाव भएको हो ।

दिशानायकले मतदाताहरूलाई भ्रष्टाचार विरोधी कदमहरू चाल्ने र सुशासन दिने वाचा गरेका थिए। सन् २०२२ को सङ्कटपछि निरन्तर परिवर्तनको पक्षमा पैरवी गरिरहेका मतादाताहरूको भावनासँग उनले सम्प्रेषण गरेका ती सन्देशहरू मेल खाने गरेको जस्तो देखिन्थ्यो ।

आइतबार बिहानसम्मको प्रारम्भिक नतिजाले दिशानायकले अग्रता हासिल गरेको देखाएको छ। गणना भएका मतमध्ये उनले ४२ प्रतिशत भोट पाएका छन्। विजेता हुनका लागि कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत ल्याउनुपर्ने व्यवस्था श्रीलङ्कामा छ।

विपक्षी नेता सजिथ प्रेमदासाले करिब ३२ प्रतिशत मत ल्याएका छन् भने दोस्रो कार्यकालका लागि राष्ट्रपतिमा निर्वाचित हुने प्रयास गरिरहेका रनिल विक्रमसिङ्घले १६ प्रतिशत मत ल्याएका छन्।

हाल ७५ वर्षका विक्रमसिङ्घलाई पूर्व राष्ट्रपति गोटाबय राजपक्ष अपदस्थ भएको एक सातापछि संसद्ले राष्ट्रपतिमा नियुक्त गरेको थियो। अपदस्थ राष्ट्रपतिका ३८ वर्षीय भतिज नमल राजपक्षले झन्डै ३ प्रतिशत मत पाएका छन्।

सम्बन्धित समाचार

सबै