समाचार

लुम्बिनी लायन्सको नयाँ क्रिकेट प्रतिभा खोज अभियान, सुपरस्टार बन्ने मौका

NepalOne
६ कार्तिक २०८१ २०:३४

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टोली लुम्बिनी लायन्सले युवा तथा प्रतिभाशाली क्रिकेटरहरूका लागि सुपर स्टार बन्ने सुनौलो अवसर ल्याएको छ ।

घरेलु प्रतिभालाई प्रोत्साहन गर्ने आफ्नो प्रतिबद्धता अनुरुप लुम्बिनी लायन्सले आगामी एनपीएलको लागि ट्यालेन्ट हन्ट आयोजना गर्दैछ । जसबाट ४ उदीयमान खेलाडीहरूलाई आफ्नो टिममा समावेश गराउन लागेको हो ।

यसरी छनोट भएका ४ खेलाडीहरू मध्य एक जनाले ‘सुपरस्टार’ को उपाधि सहित नगद १ लाख प्राप्त गर्नेछन् । साथै एनपीएलमा अन्य खेलाडीहरुसँग खेल्ने अवसर पनि पाउनेछन् ।

बाँकी ३ खेलाडीहरूले ‘स्टार’ को उपाधि प्राप्त गर्नेछन् जसले लायन्स क्लबको विशेष प्रशिक्षणहरुमा सहभागी हुने अमूल्य अनुभव प्राप्त गर्नेछन् ।

विज्ञ प्रशिक्षकहरूको मार्गदर्शन र निरिक्षणमा युवा क्रिकेटरहरुको सिप निखार्दै उनीहरुलाई व्यावसायिक क्रिकेट क्लबको हिस्सा बन्ने अवसर प्रदान गर्न ट्यालेन्ट हन्टको सुरुवात गरिएको क्लबले जनाएको छ ।

यस अवसरले युवा खेलाडीहरूलाई अनुभवी क्रिकेट खेलाडी र प्रशिक्षकहरूसँग प्रशिक्षण गर्ने अवसर प्रदान गर्दै भविष्यमा उत्कृष्ट क्रिकेटर बन्न तयार बनाउने विश्वास क्लबले लिएको छ ।

लुम्बिनी लायन्सका मालिक इश्वर जिसिले यो अभियान अन्तर्गत लुम्बिनी प्रदेशका विभिन्न कुनाबाट क्रिकेटका उदीयमान तारा खोज्न कोसिस रहेको बताए ।

यस सुनौलो अवसरमा सहभागिहुन चाहने इच्छुक युवा क्रिकेटरहरूले निश्चित आवेदन प्रक्रिया भने पूरा गर्नुपर्ने हुन्छ । लुम्बिनी लायन्सको आधिकारिक फेसबुक तथा इन्स्टाग्राम पेजमा गरिएको ट्यालेन्ट हन्टको पोस्टमा रहेको रजिस्ट्रेसन लिङ्कमा क्लिक गरेर आवेदन प्रक्रियाको बारेमा विस्तृत जानकारी प्राप्त गर्न सक्नेछन् ।

क्लबको कोचिङ प्यानलले सहभागीहरूले पठाएका भिडियोहरूको मूल्याङ्कन गरेपछि छनोट प्रक्रिया शुरु हुनेछ ।
जसको आधारमा खेलाडीहरूको सीपको स्तरको आँकलन गरिनेछ । यस मूल्याङ्कनको आधारमा छनोट गरिएका खेलाडीहरूको सूचि तयार गरी उनीहरूलाई व्यक्तिगत रूपमा ट्रायलमा सहभागी हुन अवर पाउनेछन् ।

कार्तिक १८, २०८१ भित्र आवेदन बुझाउनुपर्नेछ । सर्टलिस्टमा परेकाहरूको नाम कार्तिक २० गते घोषणा गरिनेछ भने ट्रायलको मिति र स्थान पनि तोकिनेछ ।


प्रतिक्रिया