चार हजार कैदीबन्दीको जेल सजायँ माफी

Nepal One HD १३ मंसिर २०८१ ९:१९
विश्व

पूर्वी अफ्रिकी राष्ट्र बुरुन्डीको भीडभाड युक्त जेलखाली गर्ने अभियानअन्तर्गत बुरुन्डीले करिब चार हजार कैदीलाई रिहा गरेको छ ।

राष्ट्रपति इभारिस्टे नदायिशिमिएले यसै महिनाको सुरुमा सामूहिक क्षमादानको घोषणा गर्दै सानातिना अपराधमा संलग्न कैदीहरूलाई मात्र यो लागू हुने र यसलाई लागत बचत गर्ने उपायको रूपमा न्यायोचित ठहराउने बताउनुभएको थियो ।

सरकारी तथ्याङ्कअनुसार क्षमताभन्दा तीन गुणा बढी कैदीबन्दी रहेको कारागारमा रहेका करिब पाँच हजार ५०० कैदीबन्दी रिहा हुन बाँकी छन् ।

यो सङ्ख्या जेलमा रहेका कूल कैदी सङ्ख्याको करिब ४० प्रतिशत हुने अधिकारीहरूले बताएका छन् ।

मङ्गलबार अबेर पोस्ट गरिएको एक वक्तव्यमा राष्ट्रपतिको कार्यालयले भनेको छ, “सम्बन्धित पाँच हजार ४४२ कैँदीमध्ये करिब चार हजार जना आफ्नो परिवारमा फर्किसकेका छन्।

तर स्थानीय मानव अधिकार समूह इटेकाका प्रमुखले चार हजारदेखि ५,००० को बीचमा रहेका राजनीतिक कैदीहरूलाई समावेश नगरिएको तथ्यको आलोचना गर्नुभयो ।

इटेकाका अध्यक्ष एन्शेयर निकोयागेजले भन्नुभयो, “राष्ट्रपतिको यो क्षमादान को उपाय केवल सामान्य कानून कैदीहरूसँग सम्बन्धित छ । यस निर्णयले हजारौं राजनीतिक कैदीहरूलाई नसमेटेकोमा हामीलाई खेद छ । उनीहरूले आधाभन्दा बढी जेल सजाय बिताइसकेका छन् तर कैदमाफीमा परेका छैनन्।”

कैदीहरूले एएफपीलाई बुरुन्डीका कारागारहरूको अवस्था ‘अमानवीय’ भएको बताएका छन्।

नाम नबताउने शर्तमा एक कैदीले भने, “हामी धेरै दिनसम्म खाना नखाएरै कैदमा बस्नुपर्ने अवस्था छ, त्यहाँ औषधिको व्यवस्था छैन र अधिकांश कैदी भुइँमा सुत्छन्।

सन् २०२१ मा भएको यस्तै घोषणामा पाँच हजार २५५ जना कैदीबन्दीलाई रिहा गरिएको थियो भने कारागारमा भीडभाड कम गर्ने कार्यक्रम घोषणा गरिएको थियो ।

सन् २०२० मा सत्ता सम्हाल्नुभएका नेताको पूर्व राष्ट्रपति पियरे नकुरुन्जिजाको अराजक र रक्तपातपूर्ण शासनमा वर्षौंदेखिको अलगाववादलाई क्रमशः अन्त्य गर्दै लगेकोमा प्रशंसा गरिएको छ ।

यद्यपि, पत्रकार, कार्यकर्ता र विपक्षी व्यक्तिहरू माथि दमनको जारी रिपोर्टहरूका कारण बुरुन्डीको मानव अधिकारको रेकर्ड अहिले पनि खराब छ।


प्रतिक्रिया