
भैरहवा । रुपन्देहीको भैरहवा बहुमुखी क्याम्पसमा सत्तारुढ बाहिर रहेका दल निकट विद्यार्थी संगठनहरुले स्ववियू निर्वाचनको विषयलाई लिएर तोडफोड गरेका छन् ।
आगामी ५ चैतमा हुने स्ववियु चुनावका लागि सोमबार देशभरका क्याम्पसहरुमा अपराह्न तीन बजेसम्म विद्यार्थी संगठन दर्ताको समय तोकिएको छ । तर, भैरहवा बहुमुखी क्याम्पसमा ५ विद्यार्थी सङ्गठनहरूले आइतबार साँझ नै स्ववियु निर्वाचन कार्यकक्षमा तालाबन्दी गरेका थिए ।
समाजवादी विद्यार्थी युनियन, समाजवादी विद्यार्थी युनियन नेपाल, जनमत विद्यार्थी संघ, राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी युनियन र स्वतन्त्र मधेश विद्यार्थी युनियनले विभिन्न माग राखी क्याम्पस रहेको निर्वाचन आयोगको कार्यकक्षमा तालाबन्दी गरेका थिए ।
निर्वाचन तालिकाअनुसार निर्वाचन आयोगले आफ्नो प्रक्रिया अगाडि बढाउनका निम्ति सोमबार ५ विद्यार्थी संगठनसँग बैठक बसालिरहेका बेला नेकपा एमालेको भ्रातृ संगठन अनेरास्ववियु संगठन दर्ता गरी पाउँ भन्दै बैठक हलमा बाजागाजासहित प्रवेश गरेको थियो ।
यसपछि विरोधमा उत्रिएका पाँच विद्यार्थी संगठनले तोडफोड गरेका हुन् । समाजवादी विद्यार्थी युनियनका इकाई इन्चार्ज इरफान अलीले बैठक कक्षमा अनेरास्ववियुका कार्यकर्ता प्रवेश गरेर होहल्ला गरेपछि पाँच विद्यार्थी संगठनका सदस्यहरू आक्रोशित भएर तोडफोडमा उत्रिएको जानकारी दिए । विद्यार्थीहरूको तोडफोडले केही कुर्सी भाँचिएका छन् । विद्यार्थीहरूले क्याम्पस प्राङ्गढमा टायर बालेर विरोधसमेत जनाएका थिए ।
निर्वाचन तालिकाअनुसार सोमबार संगठन दर्तापछि २१ फागुनमा मतदाता सूची प्रकाशित गर्ने र २५ फागुनमा मतदाता सूची उपर दाबी विरोध गर्ने समय दिइएको छ । सोही दिन नै मतदाता सूची उपर दाबी विरोधको छानबिन गरी अन्तिम नामावली प्रकाशित गर्ने कार्यतालिका छ । २६ फागुनमा उम्मेदवारका लागि मनोनयनपत्र वितरण हुनेछ ।
प्रत्यक्ष र समानुपातिक दुवैतर्फको उम्मेदवारको मनोनयन पत्र नामावली दाखिला गर्ने समय २७ फागुनका लागि तोकिएको छ । सोही दिन नै दुवैतर्फको उम्मेदवारको नामावली प्रकाशित गर्ने कार्यतालिका छ ।
दुवैतर्फको उम्मेदवारको नामावली उपर दाबी विरोध गर्ने २८ फागुनका लागि तोकिएको छ । सोही दिन नै दुवैतर्फको दाबी विरोध उपर छानबिन गरी उम्मेदवारको नामावली प्रकाशित गर्ने कार्यतालिका छ ।
दुवैतर्फको उम्मेदवारको नाम फिर्ता लिने अन्तिम समय २९ फागुन तोकिएको छ । दुवैतर्फको उम्मेदवारको अन्तिम नामावली २९ फागुनमा सार्वजनिक गरिनेछ । र, ५ चैतमा बिहान ८ बजेदेखि दिनको ४ बजेसम्म स्ववियु नेतृत्व चुन्न मतदान हुने कार्यतालिका छ । तर, भैरहवा बहुमुखीमा विद्यार्थी संगठनहरूका बीच भएको विवादले निर्वाचन हुने–नहुने अन्योलमा भएको छ ।