विकासका कामले ‘जेनजी’का आकांक्षा समेटनुपर्छः उपमहासचिव पुन

NepalOne १ जेठ २०८२ १६:१९
राजनीति

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का सांसद वर्षमान पुनले सरकारको बजेट तथा कार्यक्रमले जेनजी (जेनेरेसन १९९०-२०१०) लक्षित कार्यक्रमलाई प्राथमिकता दिनुपर्ने बताएका छन्।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि विनियोजन विधेयकमा सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) माथिको छलफलमा भाग लिँदै पूर्वअर्थमन्त्री पुनले प्रविधिसँग हुर्किएका ‘जेनजी’सँगै पछिल्ला पुस्ताका आकांक्षामाथि बहस गर्दै विकासका कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिए।

डिजिटल पूर्वाधार विकाससँगै स्मार्ट पूर्वाधारमा बहस गर्नुपर्ने राय पुनले व्यक्त गरे। ‘एआईररोबोटसँग हुर्किएका जेनजी र त्यसपछिका पुस्ताहरु ज्ञानको अवसरसँगै समाज र यथार्थबाट बेखबर बनिरहेको अवस्था छ। यो हाम्रा लागि चुनौती हो’, उनले भने, ‘जेनजीको आकांक्षामाथि छलफल गर्नुपर्छ। त्यसलाई आजको हाम्रो विकास र कार्यक्रमले कसरी सम्बोधन गर्छ, भन्नेतर्फ बहस चलाउनुपर्छ।’

पूर्वअर्थमन्त्री पुनले उत्पादनमा प्रविधिको प्रयोगले पुनरुत्पादनको न्यायोचित वितरणबारे बहस गर्नुपर्ने उल्लेख गरे। ‘निजीकरण सबै बजारलाई छाड्दा विकृतिहरु आयो। निजी क्षेत्रलाई कानूनी शासन हुनुपर्‍यो। बजार प्रतिस्पर्धी हुनुपर्‍यो। त्यो सिद्धान्तमा आधारित भएर हाम्रो बजेट र कार्यक्रम आउनुपर्छ’, उनले भने।

उनले राजस्वका नीतिमा सुधारको आवश्यकता औँल्याए। ‘राजस्वमा त्यस्ता नीतिहरु बनुन जसले पार्टी, नेता र प्रशासक वा मन्त्री नचिने पनि उसले व्यवसाय गर्न सकोस, प्रतिस्पर्धा गर्न सकोस, त्यस्तो नीतिमा काम गर्न सक्नुपर्छ।’

पूर्वअर्थमन्त्री पुनले अर्थतन्त्र सुधारका लागि अर्थतन्त्रको संरचना, व्यावसायिक वातावरण, सार्वजनिक वित्त प्रणाली र वित्तिय क्षेत्रको सुधार गर्नुपर्नेमा जोड दिए। उनले सार्वजनिक प्रशासनलाई प्रतिस्पर्धी बनाउन सुझाव दिए।


प्रतिक्रिया