संविधानको कार्यान्वयनप्रति जिम्मेवार छौं र त बजेट ल्याउन दिँदैछौंः प्रमुख सचेतक पाण्डे

NepalOne १५ जेठ २०८२ १४:३८
प्रमुख खबर

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले वर्तमान परिवेशमा सम्पूर्ण गणतन्त्रवादी शक्तिहरू एकजुट हुनुपर्ने आवश्यकता रहेको बताएका छन् ।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा विपक्षी दलहरूका तर्फबाट बोल्दै उनले भने, ‘गणतन्त्र स्थापनाका लागि जसरी हामीबीच एकरुपता भएको थियो, त्यसरी गणतन्त्रको रक्षाका निम्ति गणतन्त्रवादी शक्ति एक हुनुपर्ने बेला आएको छ ।’

उनले भ्रष्टाचारको अन्त्य गर्दै सामाजिक न्याय र समृद्धिका निम्ति अग्रसर हुन सरकारको ध्यानाकर्षण गराए । पाण्डेले ‘भिजिट भिसा’ प्रकरण निरुपण नहुन्जेलसम्म गृहमन्त्री रमेश लेखकको राजीनामा माग निरन्तर जारी रहने उल्लेख गर्दै बजेट र आर्थिक सर्वेक्षणका लागि मात्र संसद् बैठक सञ्चालन गर्न आफूहरु सहमत भएको बताए ।

उनले भने, ‘संविधानको धारा १३ का तीनवटा उपधारामा जेठ १५ गते बजेट प्रस्तुत गर्नेसम्बन्धी व्यवस्था छन् । हामी विपक्षी दलहरू संविधानको कार्यान्वयनप्रति जिम्मेवार छौं । त्यसैले आज बजेट ल्याउन दिँदैछौं ।’

पाण्डेले गृहमन्त्रीले राजीनामा दिएर छानबिनका लागि मार्ग प्रशस्त गर्नुपर्नेमा पत्रकार सम्मेलन गरेर जनतालाई थप गुमराहमा राख्न खोजेको आरोप लगाए ।

उनले भने, ‘पत्रकार सम्मेलनमार्फत गृहमन्त्रीले कर्मचारीलाई दोषरोपण गरेर गृहमन्त्री पन्छिन खोज्नु भयो । भ्रष्टाचार भयो भने कारबाही गर्ने दायित्व यो सरकारको छ कि छैन ? कारबाही गर्न यो सरकार बनेको होइन ?’

भिजिट भिसा प्रकरणलाई लिएर मंगलबारदेखि विपक्षी दलले निरन्तर सदन अवरुद्ध गर्दै आएका छन् । तर बजेट ल्याउन भने उनीहरुले नरोक्ने रणनीति अनुसार आज सदन चल्न दिएका हुन् । आज सरकारले आगामी आर्थिक वर्षको बजेट ल्याउँदैछ ।


प्रतिक्रिया