पीएसजीले पहिलोपटक जित्यो च्याम्पियन्स लिगको उपाधि

NepalOne १८ जेठ २०८२ ९:२७
खेलकुद

काठमाडौं । पेरिस सेन्ट–जर्मेन (पीएसजी) ले क्लब इतिहासमै पहिलो पटक युइएफए च्याम्पियन्स लिगको उपाधि जित्न सफल भएको छ । प्रशिक्षक लुइस एनरिकेको नेतृत्वमा रहेको टोलीले इटालियन क्लब इन्टर मिलानलाई एकतर्फी प्रदर्शन गर्दै ५–० को सानदार जित दिंदै उपलब्धि पूरा गरेको हो ।

खेलको १२औं मिनेटमै हाकिमीले डुओको क्रसलाई गोलमा परिणत गर्दै पीएसजीलाई अग्रता दिलाए । त्यसको आठ मिनेट पछि युवा खेलाडी डुओको प्रहार इन्टरका खेलाडीबाट डिफ्लेक्ट भई गोल बन्यो । पीएसजीले सुरुवातदेखि नै आक्रमणकारी शैली अपनाए पनि इन्टरले भने खेलमा फर्किने प्रयास खासै गर्न सकेन। दोस्रो हाफमा पनि पीएसजीको लय जारी रह्यो ।

६३औं मिनेटमा डुओले अर्को गोल गर्दै टिमको तेस्रो गोल पूरा गरे। ७३औं मिनेटमा क्वारात्स्खेलियाले इन्करको डिफेन्सलाई चिर्दै कीपर सोमरलाई बिट गर्दै व्यक्तिगत गोल गरे । खेल सकिन चार मिनेट बाँकी रहँदा वैकल्पिक खेलाडी मायुले उत्कृष्ट टिमवर्कबाट गोल गर्दै पीएसजीको जितमा पाँचौं गोल थपे ।

यो जितसँगै पीएसजीले फ्रेन्च लिग, फ्रेन्च कप र च्याम्पियन्स लिग जित्दै ऐतिहासिक ट्रेबल पूरा गरेको छ । यद्यपि सिजन अझै बाँकी छ, पीएसजीले अब क्लब विश्वकप खेल्नुपर्नेछ, पहिलो खेल एट्लेटिको म्याड्रिडसँग खेल्नेछन् । इन्टरका लागि भने यो सिजन निराशाजनक रह्यो। केही हप्ता अगाडि ट्रेबलको दौडमा रहेको टोली अन्ततः तीनवटै उपाधिबाट बाहिरिएको छ।


प्रतिक्रिया