राजावादी छाडा भएः प्रचण्ड

NepalOne १८ जेठ २०८२ १७:००
बिशेष

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हालको सरकारले प्रतिगमनकारी शक्तिहरूलाई बलियो बन्ने मौका दिएको आरोप लगाएका छन् ।

आइतबार काठमाडौंमा वाइसिएलको तेस्रो राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले भ्रष्टाचारीलाई बचाउने, कुशासन कायम गर्ने र इमान्दारहरुलाई कारबाही गर्ने काम सरकारबाट भएको आरोप लगाए ।

उनले यथास्थितिवादको राजनीति संविधान र गणतन्त्रका लागि खतरा बनेको बताए । उनले भने, ‘अहिले प्रतिगमनले जसरी टाउको उठाएको छ त्यो गणतन्त्र समर्थन गरिदिएको भरमा भ्रष्टाचारीलाई बचाउने, कुशासन कायम गर्ने, इमान्दारहरुलाई कारवाही गर्ने सरकारबाट भएको छ ।’

प्रचण्डले संविधानको रक्षालाई माओवादी केन्द्रको प्रमुख प्राथमिकता भएको बताए । उनले वर्तमान सरकार यथास्थितिवादी धाराको प्रतिनिधि बनेको र जनताको अधिकार खोस्ने दिशामा अघि बढिरहेको आरोप लगाए । राजावादी शक्तिहरूले गणतन्त्र माओवादीकै उपलब्धि मात्र भएको भन्दै भ्रम फैलाउन खोजेकोप्रति प्रचण्डले आपत्ति जनाए ।

राजावादीहरू छाडा भएको र आफूहरूमाथि आक्रमण गर्ने कोशिस भइरहेको भन्दै प्रचण्डले प्रतिवाद गर्नेगरी तयार रहन नेता कार्यकर्तालाई निर्देशन दिए ।

उनले भने, ‘उनीहरूको आन्दोलनमा गएर आक्रमण गर्ने चाहिँ भन्न मैले खोजेको होइन । छाडा भएर हामीहरूमाथि आक्रमण गर्ने कोशिस गर्दैछन् । यदि उनीहरू आइलाग्छन् भने इँटको जवाफ पत्थरले दिनेगरी तयारी गर्नुस् ।’

उनले उनले आगामी दिनहरूमा प्रतिगमनविरुद्ध अझ बलियो प्रतिरोध गर्ने प्रतिबद्धता व्यक्त गरे ।


प्रतिक्रिया